कानुन व्यवसायीद्वारा रेग्मीको कार्यक्रम बहिस्कार

काठमाडौं । मन्त्रिपरिषद् अध्यक्ष खिलराजलाई सर्वोच्च अदालतले कानुन दिवसको अतिथी बनाएपछि कानुन व्यवसायीहरुले कार्यक्रम बहिस्कार गरेका छन् ।प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सविधान र कानुन उल्लंघन गरेर मन्त्रिपरिषदका अध्यक्ष बनाएको र उनलाई नै अतिथि बनाइएको भन्दै नेपाल बार एसोसिएसनको अगुवाईमा कानुन व्यवसायीहरुले कार्यक्रम बहिस्कार गरेका हुन् । ‘संविधान कानुन उल्लंघन गरेका व्यक्तिलाई नै अतिथी बनाएपछि बार एशोसिएसन, सर्वोच्च बार र बोलाइएका कानुन व्यवसायीहरुले कार्यक्रममा सहभागी नहुने सहमति गरेका हौं’-बार एशोसिएसनमा महासचिव सुनिल पोखरेलले बताए ।दरबारमा रहेको न्यायापालीकालाई सर्वोच्चमा ल्याएको सम्झनामा कानुन दिवस मनाउन थालिएको भन्दै उनले अहिले कार्यपालिका, न्यायपालीका र व्यवस्थापीका एवै व्यक्तिमा केन्द्रीत भएको अवस्थामा दिवस मनाउनुको औचित्य नरहेको बताए। सर्वोच्च परिषद्मा भएको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र कामु प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा लगायत उपस्थित थिए ।