रेग्मी बाधक बन्नु हुँदैन: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावलाई सुनिश्चित गर्न अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलरज रेग्मीले बाधक भएको भन्दै तत्काल प्रधान न्यायाधीशबाट राजिनामा दिनुपर्ने बताएका छन ।
पार्टीका कामको सिलसिलामा इलाम पुगेका सभापति कोइरालाले शुक्रबार इलाम सदरमुकाममा पत्रकारसँगको भेटघाटमा वर्तमान सरकार गठन प्रक्रिया र कामकार्वाहीप्रति असन्तुष्टी जाहेर गर्दै सो कुरा बताएका हुन् । आफूहरु बावुरामको सरकारको विकल्प खोज्ने क्रममा बाध्य भएर रेग्मीलाई स्वीकार गरेको बताउदै अहिले रेग्मीकै कारण चुनावी वातावरण बिथोलिएको बताए । ‘रेग्मीले तत्काल प्रधानन्याधिसको पदबाट राजीनामा दिनुपर्छ’ कोइरालाले संचारकर्मीसँग भने । सबै दललाई चुनावमा ल्याएर मात्र अगाडि बढ्नुपर्ने उनको तर्क थियो । कोइरालाले नेकपा–माओवादी सहित ३३ दलको मागप्रति घुमाउरो पाराले समर्थन जनाउदै , खिलराज रेग्मीको राजिनामा मागेर केही दलहरु आन्दोलन चलाइरहेका छन्, उनीहरुले खिलराज रेग्मीलाई बाधक ठानेकाले रेग्मीले बाटो खोलिदिनु पर्ने बताए । नेकपा–माओवादी सहितका दलहरुले रेग्मीको प्रधानन्याधिशबाट होइन मन्त्रिपरिषद्को अध्यक्षबाटै राजीनामा मागिरहेका छन् । सभापति कोइरालाले अगाडि भने , ‘मुलुक र जनताको हितको लागि पनि रेग्मीले राजिनामा दिनुपछ, प्रधानन्यायाधीश समेत रहेका रेग्मीले गराएको चुनावमा जान दलहरु तयार नभइरहेको अवस्थामा रेग्मी बाधक बन्नु हुँदैन ।’