सुशीलले बैठक छोडे

काठमाडौ, – उच्चस्तरीय राजनीतिक समितिको बैठक कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि स्थगित भएको छ ।निर्वाचन सम्बन्धी आवश्यक ऐन कानुनमा सहमति जुटाउन सोमबार बिहान बस्ने तय गरेको बैठकमा सहभागी एकीकृत नेकपा माओवादी, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु नयाँ बानेश्वर पुगेपनि कांग्रेस सभापति कोइराला अनुपस्थित भएपछि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।
कोइरालाले व्यस्तता देखाउँदै बैठक शुरु हुने बेलामा आउन नसक्ने जानकारी दिनुभएको थियो । सोमबारको बैठकमा संविधानसभाको नयाँ चुनावका लागि चाहिने आवश्यक ऐन कानुनका विषयमा सहमति जुटाउने नेताहरुले बताएका थिए ।
अब अर्को बैठक बिहीबार बस्ने एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो । दलहरुबीच संविधानसभा सदस्य संख्या, थ्रेस होल्ड र चुनावमा उम्मेदवार दिनेको योग्यताका विषयमा दलहरुबीच सहमति हुन सकेको छैन ।
सहमति जुटाएर १५ गते गणतन्त्र दिवसको दिन चुनावको मिति घोषणा गर्ने दलहरुको तयारी पूरा नहुने देखिएको छ ।