सरकार चुनावको होइन दसैं तिहारको तयारीमा

२०७० जेष्ठ १६ गते, बिहीबार

काठमाडौँ, । चार दलले चुनाब गराउने ठेक्का दिएर सकारको बागडोर सुम्पिएको रेग्मी सरकार चुनावको होइन दसैं तिहारको तयारीमा लागेको छ । रेग्मी सरकारको आजको मन्त्रिपरिषद्को बैठकले आउँदो दसैँ, तिहार, छठलगायतका पर्वहरुलाई ध्यानमा राखी बजारमा चिनीको अभाव हुन नदिन आगामी कात्तिक महिनाभित्र पैठारी हुने गरी ३० हजार मेट्रिकटनसम्म चिनीमा एक प्रतिशत भन्सार महसुल लिई पैठारी गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका संस्थानलाई अनुमति दिने निर्णय गरेको छ ।
यसैगरी, बैठकले सन् १९८४ मा व्यवस्था भएको यातनाविरुद्धको महासन्धिअन्तर्गतको यातनाविरुद्धको संयुक्त राष्ट्रसङ्घीय समितिको रिक्त सदस्य पदमा नेपालको तर्फबाट डा. भोगेन्द्र शर्मा काठमाडौँलाई उम्मेदवार मनोयन गरेको छ । साथै बैठकले शर्माको उम्मेदवारीका लागि विभिन्न कूटनीतिक नियोगालाई परिचालन गर्न पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसबमोजिम अर्जुनबाबु ढकाल गोर्खालाई चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा सो प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत जीवनप्रसाद रिजाललाई नियुक्ति गर्ने बैठकले निर्णय गरेको छ ।
शिक्षक सेवा आयोग आठौँ संशोधन नियमावली २०७० लाई स्वीकृत गर्नुका साथै मनास्लु हिमाल आरोहण गर्न जाँदा हिमपहिरोमा परी हराइरहेका फ्रान्सेली नागरिक ग्रिगोई कोस्काको खोजी गर्न निजको पिता गेरहार्ड कोस्कासमेत तीन सदस्यीय फ्रान्सेली नागरिक टोलीलाई सो हिमाल आरोहण गर्न लाग्ने सलामी शुल्कबापत सात हजार अमेरिकी डलर छुट दिने निर्णय भएको पनि मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]