गृहसचिबहरु बिच भएको सम्झौता अमान्य : किरण

२०७० जेष्ठ २६ गते, आईतवार

काठमाडौं, २६ जेठ ।नेकपा-माओबादीले नेपाल र भारतका गृहसचिबहरु बिच भएको सम्झौता अमान्य भएको जनाएको छ। माओबादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ प्रेस वक्तव्य जारी गर्दै उक्त सम्झौता लागु नगर्न आग्रह गरेका छन् । अध्यक्ष मोहन वैद्य ‘किरणले जारी गरेको विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार छ- ‘यही जेठ १८ गते नेपाल र भारतका गृह सचिवहरुको बीचमा भएको २८ बुँदे सहमतिको बारेमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सहमति पत्रको मुख्यतः २० नं. बुँदामा नेपालको आधुनिक प्रहरी प्रतिष्ठान पनौतीमा निर्माण गरी सञ्चालन गर्न भारतलाई दिने विषय र २१ नं. बुँदामा अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई पनि आधुनिकीकरण गर्ने भन्ने नाममा भारतलाई दिने विषयमा गरिएको सहमति राष्ट्रिय सुरक्षा संवेदनशीलताको दृष्टिले अत्यन्तै गम्भीर र आपत्तिजनक रहेको छ । विगतका दुई पक्षीय निर्णयहरुलाई निरन्तरतामा कार्यान्वयन गर्नका लागि सहमति गरिएको भनिएको छ । वस्तुतः यसप्रकारका निर्णयहरु राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले अत्यन्तै घातक रहेका छन् । अतः ती गोप्य निर्णयहरु जहिलेसुकै सहमति गरिएको भनिए तापनि त्यसप्रकारका राष्ट्रिय हित विपरीतका निर्णयहरुलाई अविलम्ब खारेज गर्न र ती निर्णयहरुको कुनै पनि बहानामा कार्यान्वयन नगर्न सम्बद्ध पक्षहरुसँग हाम्रो पार्टी जोडदार माग गर्दछ । साथै, त्यसप्रकारको राष्ट्रिय सुरक्षा संवेदनशीलतासँग जोडिएका राज्यका निकायहरुको निर्माण, सुधार, आधुनिकीकरण र सञ्चालन लगायतका सबै कार्यहरु नेपाल सरकार स्वयंले गर्नुपर्दछ र त्यसप्रकारका सुरक्षा संवेदनशील निकायहरु कुनैपनि बहानामा कुनैपनि बाह्य मुलुकलाई दिइनुहुँदैन भन्ने हाम्रो पार्टीको दृढ अभिमत रहेको ब्यहोरा पनि सबैमा जानकारी गराउन चाहन्छौं । ‘

प्रतिक्रियाहरु

[anycomment]