दलाल र गद्दार गुटसँग पार्टी एकता हुन सक्दैन : किरण

२०७० जेष्ठ २७ गते, सोमबार

काठमाडौँ, २७ जेठ ।नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेकपा–माओवादी र एनेकपा माओवादीका बीच पार्टी एकता हुँदैछ भनी अत्यन्तै कपोलकल्पित तथा भ्रामक प्रचारबाजी भएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएका छन । ‘प्रचण्ड–बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ,’ किरणले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन ।’ एनेकपा माओवादीसँगको एकताबारे पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफल सम्म पनि नभएको वैद्यले स्पष्ट पारेका छन । दुई पार्टी विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणकाक्षेत्रमा दुई परस्पर विपरीत दिशा र धारामा विभाजित रहिआएको पनि नेकपा–माओवादीले स्पष्ट पारेको छ ।
यस बिषयमा अध्यक्ष मोहन वैद्य ‘किरणले जारी गरेको प्रेस वक्तव्यको पूर्ण बिबारण यस प्रकार छ – “हालै कतिपय सञ्चार माध्यमद्वारा नेकपा-माओवादी र एनेकपा(माओवादी)का बीच पार्टी एकता हुँदैछ भनी अत्यन्तै कपोल कल्पित तथा भ्रामक प्रचारबाजी हुँदै आएकोमा हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ । यी दुई पार्टी विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणका क्षेत्रमा दुई परस्पर विपरीत दिशा र धारामा विभाजित रहिआएको यथार्थता जगजाहेर नै छ । यहाँसम्म कि प्रचण्ड-बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ । त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन । उक्त गुटसँग पार्टी एकताबारे हाम्रो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफलसम्म पनि नभएको कुराबारे हामी र्सार्वजनिक रुपमा स्पष्ट गर्न चाहन्छौं ।”

प्रतिक्रियाहरु

[anycomment]