दिल्लीलाई खुसी पार्न निर्वाचन: गौरब

काठमाडौ, जेठ ३० । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले निर्वाचनको मिति घोषणा हुना साथ मुलुकमा अर्को द्वन्द्वको घोषणा हुने चेतावनी दिएका छन्। उपाध्यक्ष गौरबले निर्वाचनको मिति घोषणा गर्नु भनेको अर्को द्धन्द सुरु गर्नु भएको बताए। ‘चार दलको सेण्डिकेटले त्यसको तयारी गरिरहेको छ। चुनावको मुखमा वाईसीएल ब्यूताउँनु र त्यसलाई काउण्टर दिन यूथ फोर्स ब्यूताउनुले चार दलनै निर्वाचनको नाममा मुलुकलाई द्वन्द्वमा धकेल्न उद्यत भएको प्रष्ट हुन्छ,’ गौरबले भने। दिल्लीले मंसिर १५ भित्र निर्वाचन गर्न दवाब दिईरहेकोले उसलाई खुसी पार्न निर्वाचनको नाममा चार दलले कठपुतली नाच नाचिरहेको दावी गर्दै उनले दिल्लीले प्रचण्ड, शेरबहादुर, केपी ओली र अब माधवकुमार नेपाललाई बोलाएर मंसिर १५ भित्र निर्वाचन गर्न दवाव दिईरहेको गौरबले बताए। उनले नेकपा–माओवादी सहितका आधा दलहरुलाई बाहिर राखेर गरिने निर्वाचनको औचित्य नहुने समेत स्पष्ट पारे। उनले भने–दिल्लीलाई खुसि पार्न मुलुकलाई द्वन्द्वमा धकेल्न निर्वाचन नगरौ । यथास्थितिमा निर्वाचन गर्ने दुस्साहस गर्नेलाई हामी ठिक पार्छौ भन्दै उनले जवरजस्ती गरिने निर्वाचन हामीहरूलाई मान्य नहुने र नेपाली जनता खुसी नभई निर्वाचन हुन सक्दैन भन्ने ठोकुवा गरे। उनले खिलराज रेग्मी नेतृत्वको सरकारले कुनै पनि हालतमा निर्वाचन गर्ने नसक्ने दाब गरे।
उपाध्यक्ष गौरबले आधार नबनाई निर्वाचनको मिति तोक्ने दुस्साहस नगर्न चेतावनी दिदै मंसिरको निर्वाचन रोकेर वातावरण बनाउन प्रयास गर्नु पर्ने प्रस्ताव गरे। मंसिरको निर्वाचन रोकेर गोलमेच सम्मेलन मार्फत फागुण चैतमा निर्वाचन गर्नु पर्ने उनको तर्क थियो। यथास्थितिमा चुनाव भए संविधान बन्नै नसक्ने बनिहाले पनि त्यो संविधानलाई कसैले पनि नस्विकार्ने स्पष्ट पारे। अहिलेकै प्रक्रियाबाट हुन नसके अर्को जनआन्दोलनमार्फत प्राप्त जनादेशको आधारमा नयाँ संविधान बनाउने घोषणा पनि गौरबले गरे।प्रचण्ड र बाबुराम गुटलाई दलाल र गद्दार घोषणा गरिसकेकोले एनेकपा माओवादीसँग पार्टी एकता असम्भव भएको दावी गर्दै उनले भने–’एमाओवादीसँग एकताको च्याप्टर क्लोज भईसक्यो।’