महाकालीमा भीषण बाढी, खलंगा उच्च जोखिममा

दार्चुला, ३ असार– तीन दिनदेखिको जारी वर्षाका कारण महाकाली नदीमा भीषण बाढी आएको छ । ३० वर्षयताकै भीषण भनिएको सो बाढीले आइतबार राति दार्चुला सदरमुकाम खलंगा–५ का दुई दर्जन र बाङाबगडका दुई दर्जन बढी घर बगाएको छ । बाढीले खलंगाको बाङाबगडदेखि गल्फैसम्म कटान गर्ने क्रम जारी छ । बाढी बढेलगत्तै नेपाली सेनाले उच्च सतर्कता अपनाउँदै प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा लगेकाले मानवीय क्षति भने हुन पाएन । पानी पर्ने र नदीमा बाढी आउने क्रम नरोकिएकाले जिल्ला सदरमुकाम उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सर्तक रहन सर्वसाधारणलाई सूचना जारी गरेको छ । भारतीय सीमानामा निर्माण गरिएको धौली गंगा पावर हाउसको बाँधमा भरिएको पानी खोल्ने बताइएकाले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सचेत रहन सूचित गरिएको हो । बाढीका कारण जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, अपि–नाम्पा संरक्षण क्षेत्र कार्यालयलगायत दर्जन बढी सरकारी कार्यालय उच्च जोखिममा छन् । बाढीले ब्रम्हदेव गाविसमा निर्माण गरिएको कालागाड लघुजल विद्युतसमेत बगाएको छ । भारतबाट आयात गरिएको जोलजीवीमा राखिएको विद्युत ट्रान्सर्फमर बगाउँदा जिल्लामा विद्युत प्रसारण पनि बन्द भएको छ । बाढीले सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा पनि क्षति पु-याएको छ । उकु गाविसको जोलजिवीमा रहेका नेपाल–भारत जोड्ने झोलुंगे पुल पनि बगाएको छ । यसैगरी महाकाली लोकमार्गको दत्तु–खलंगा सडकखण्डमा पनि क्षति पु-याएको छ, जसका कारण सवारी साधन अवरुद्ध भएका छन् । उता, धाप गाविसकी एक महिलालाई नदीले बगाएर बेपत्ता पारेको छ । ३८ वर्षीया सरस्वती रैखोलालाई बाढीले बगाएको हो । विहान महाकाली नदीमा बाढीले बगाएर ल्याएको काठ तान्ने क्रममा रैखोलालाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पहाडी जिल्लामा लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । सोमवार बिहान ६ बजे गरिएको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ६१ हजार २ सय ७८ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।