लचक भयौं भन्नाको अर्थ छैन– किरण

काठमाडौ, २३ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले २५ बुँदे बाधा अड्काउ आदेश खारेज नगरेसम्म सरकार र चार दलले लचक भएको भन्नाको कुनै अर्थ नभएको बताएका छन् ।यहाँ अनेरास्ववियु (क्रान्तिकारी) द्वारा आयोजित ‘सार्वजनिक विद्यालयको स्तर उन्नतिका साथै उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई अभिनन्दन’ विषयको कार्यक्रममा अध्यक्ष किरणले भने , “दलीय सरकार बनाउने र २५ बुँदे बाधा अड्काउ खारेज नगरी अन्य विषयमा मात्र सहमति गरौं भन्नु हामीलाई मान्य छैन, लचिलो हुने हो भने ती विषयमा उनीहरु सहमत हुनुपर्छ ।”
अध्यक्ष किरणले गोलमेच सभा गरी राष्ट्रिय सहमतिको सरकार बनाउने मागको सुनुवाइ नगरी जबर्जस्ती चुनाव गर्न खोजे त्यसको प्रतिकार गरिने बताए ।अध्यक्ष किरणले निजी विद्यालयलाई साथ लिएर समुदायिक विद्यालयलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै शैक्षिक क्षेत्रमा नयाँ रुपान्तरण तथा सामाजिक, साँस्कृतिक तथा आर्थिक दिशातर्फ उन्मुख हुने शिक्षा नीति अहिलेको आवश्यकता रहेको औँल्याए ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष शरद रसाइलीले प्राविधिक तथा व्यावसायिक शिक्षा कक्षा ८देखि नै लागू गर्नुपर्नेमा जोड दिए । प्रअ र विद्यालय व्यवस्थापन समितिबीच हुने रकमको चलखेल, शैक्षिक पूर्वाधारलगायत समस्या तत्काल हल गर्न आफ्नो सङ्गठन क्रियाशील रहने अध्यक्ष रसाइलीको भनाइ थियो ।
अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले ‘पिसिएफ’ तथा राहत र अस्थायी शिक्षकको समाधान गर्दै देशमा एकै प्रकारको शिक्षा प्रदान गर्न सकेमा शिक्षाको गुणस्तर उकासिने विचार व्यक्त गरे ।सो अवसरमा काठमाडाँै उपत्यकाका ७४ सरकारी विद्यालयबाट ८० प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।