अमूर्त निर्वाचनको कुनै काम छैन : विप्लव

२०७० श्रावण ६ गते, आईतवार

कैलाली, ६ साउन। क्रान्तिकारी पत्रकार महासंघ कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले चार दल र सरकारले गोलमेच सम्मेलनमा देखाएको लचकतालाई पार्टीले सकारात्मक रुपमा लिएको बताएका छन् । विप्लवले राज्यको पुर्नसंरचना र प्रगतिशिल भूमिसुधार गोलमेचका एजेण्डा भएको बताए । उनले गोलमेच सम्मेलन मार्फत उच्च स्तरीय सहमति गरी जनताको संविधान समेत निर्माण गर्न सकिने बताए ।‘गोलमेच मार्फत उच्च स्तरीय सहमति गरेर जनताको संविधान बनाउन सकिन्छ’ उनले भने–‘अमूर्त संविधान सभाको निर्वाचन गर्नुको कुनै काम छैन ।’उनले मंसिर ४ गते हुने भनिएको संविधान सभाको निर्वाचन चाहना विपरित भएकाले जनताले नै असफल पार्ने बताए । ‘संविधान सभाको निर्वाचन त जनताले नै असफल पार्छन् । हामीले त्यसको नेतृत्व मात्रै गर्ने हो’ उनले भने ।
विप्लवले संविधान सभाको चुनाव सिक्किमीकरण र सहमति उल्ट्याउने प्रतिगामी कदम भएको आरोप लगाउँदै अमूर्त चुनावले राष्ट्रियतामा समस्या ल्याउने बताए ।उनले सरकारले सर्त सहित वार्तामा बोलाउने काम गैर जिम्मेबार भएको भन्दै आफूहरु निसर्त वार्तामा बस्ने बताए । उनले ८-९ गते भित्रै सरकारले वार्ताका लागि दिएको पत्रको आधिकारिक जवाफ दिने बताए । ‘अध्यक्ष किरण मधेश तिर हुनुहुन्छ । हामी ८÷९ गतेसम्ममा पत्रको जवाफ दिन्छौं’ उनले भने–‘वार्तामा बस्ने नबस्ने भन्ने कुरा त्यसपछि तय हुन्छ ।’
विप्लवले संक्रमणकालिन राजनीतिका मुख्य आधार १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान विपरित काम भैरहेको भन्दै सहमतिको दस्तावेज अन्तरिम संविधान खारेज गर्ने काम भएको बताए । ‘विगतका सहमतिलाई उल्ट्याएर अघि बढ्न खोजिदैछ’ उनले भने–‘विदेशी शक्तिको इशारामा सहमति उल्ट्याएर राष्ट्रियता कमजोर बनाउने खेल भैरहेको छ ।’
विप्लवले राष्ट्रियता जोगाउने जिम्मेबारी हरेक राष्ट्रवादीको काँधमा आएको भन्दै पूर्व राजा ज्ञानेन्द्रसँग पनि राष्ट्रियताका सवालमा कार्यगत एकता हुनसक्ने बताए । ‘राष्ट्रियताका सवालमा कुरा मिल्न सक्छ भनेको मात्रै हो’ उनले भने–‘फेरि कुरा लम्ब्याएर राजासँग नजोड्नु होला ।’
विप्लवले चार दलका कारण नै मुलुक संकटमा फसेको भन्दै मुलुकलाई संकटमुक्त बनाउने जिम्मेबारी सबैको भएको बताए । एक अर्को प्रसंगमा विप्लबले आफ्नो पार्टीसँग छन् भनिएका हतियार भन्दा बढि हतियार दीपक मनाङ्गे र घैंटेसँग रहेको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
‘हामीसँग हतियार छैन । त्यो हतियार हामीले प्रचण्ड मार्फत अनमिनलाई बुझाई सकेका छौं’ उनले भने–‘हतियार भए नभएको जवाफ हामीले हैन प्रचण्डले दिनुपर्छ ।’पोखरामा सम्पन्न पार्टीको बैठकले पास गरेको एजेण्डाका बारेमा कार्यकर्ताहरुलाई जानकारी दिन विप्लब लगायतको टोली सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]