देशभर निर्वाचन आचारसंहिता जलाइयो

काठमाण्डौं , १७ साउन। आसन्न संविधानसभाको चुनाव बहिष्कार गर्ने घोषणा गरी संर्घषका कार्यक्रम गदै आएको नेकपा-माओवादी लगायत ३३दलिय मोर्चाले निर्वाचन आंचारसंहिता जलाएको छ । निर्वाचन आयोगले साउन १७ गतेबाट जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७०’ नेकपा-माओवादी र उसको ३३ दलिय मोर्चाले आज देशभर जलाएका हुन् । पूर्वघोत कार्यक्रमअनुसार आफूहरूले आचारसंहिता जलाएको मोर्चाले जनाएको छ । यथास्थितिमा संविधानसभा निर्वाचन हुनै नदिने अडान लिइरहेको मोर्चाले निकासका लागि वार्ताको बाटो खुला गर्दै घोषित निर्वाचन मिति रोकी गोलमेच सम्मेलनको माध्यमबाट निकास निकाल्न माग गर्दै आएको छ । सोही मागअनुरूप मोर्चाले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार अपराह्न उपत्यकाका १५ स्थानमा निर्वाचन आचारसंहिता जलाएका हुन् । यसका लागि मोर्चामा आबद्ध दलहरू छुट्टाछुट्टै स्थानमा परिचालन भएका थिए ।
नेकपा (माओवादी)का संयोजक मातृका यादवले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन आचारसंहिता जलाएर आफूहरूले आन्दोलनलाई अघि बढाएको जानकारी दिए । प्रमुख चार राजनीतिक दलले एकलौटी ढंगबाट संविधान संशोधन गरी बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेपछि नेकपा–माओवादीसहित विभिन्न दल विरोधमा उत्रिएका छन् । उनीहरूले सरकारले आगामी ४ मंसिरका लागि घोषणा गरेको संविधानसभाको दोस्रो निर्वाचनले जनअपेक्षाअनुसार काम गर्न नसक्ने भन्दै निर्वाचन बिथोल्न आचारसंहिता जलाएका हुन् । आचारसंहिता जलाउनुअघि नेता कार्यकर्ताले केहीबेर नारावाजीसमेत गरेका थिए ।
आन्दोलनरत दलहरूले उपत्यकाका नयाँ बानेश्वर, कोटेश्वर, जोरपाटी, चाबहिल, महाराजगन्ज, शान्ति वाटिका, बालाजु, स्वयम्भू, कलंकी, कीर्तिपुरको नयाँ बजार, लगनखेल, ग्वार्को, टौखेल, च्यामासिं र कौशलटारमा निर्वाचन आचारसंहिता जलाएका थिए । ३३ दलीय मोर्चा भनिए पनि आचारसंहिता जलाउने कार्यक्रमका लागि २६ दललाई विभिन्न १५ स्थानमा खटाइएको थियो ।