चार दलकै कारण चुनाव बहिष्कार : किरण

ललितपुर, १८ साउन – अखिल नेपाल शिक्षक सङ्गठनको दुईदिने प्रथम केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चार दलको उच्चस्तरीय राजनीतिक समितिको व्यवहारको कारण चुनावको बहिष्कार गर्नुपरेको बताएका छन्। किरणले एमालेले अशोक राईको समूहलाई, गच्छदारले उपेन्द्र यादवलाई र एमाओवादीले आफूहरुलाई वार्तामा आउन नदिन बारबन्देज लगाएको बताए ।“जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ संविधान अनिवार्य छ, अघिल्लोपटक पनि संविधान आउन नदिने यिनै चार दल भएकाले उनीहरुले संविधान ल्याउन देलान् भन्ने लाग्दैन”, उनले शङ्का गरे।किरणले संविधानसभाबाट संविधान ल्याउन संविधानका अन्तरवस्तु तय गर्ने र दिनदिनै कमजोर बन्दै गएको राष्ट्रियता र स्वाधीनताका लागि सबैको सहमति जुटाउन आफूले राखेको गोलमेच प्रस्ताव संविधानसभाबाट संविधान बनाउनकै लागि राखिएको प्रस्ट्याएका थिए।
माओवादीका सचिव देवप्रसाद गुरुङले सरकारी स्वीकृतिमै शिक्षा क्षेत्रमा निजीकरण भित्रिएपछि वैदेशिक हस्तक्षेप बढेको तथा धनी र गरिबका लागि छुट्टाछुट्टै शिक्षा आर्जन थलो तोकेर वर्ग विभाजन गरिएको दाबि गरे ।
शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो। केन्द्रीय परिषद् बैठकले ह्रासोन्मुख शैक्षिक गुणस्तर सुधारका लागि अवलम्बन गर्नुपर्ने नीति, योजना, कार्यक्रम तथा सरोकार भएकाहरुको दायित्व विषयमा बढी छलफल हुने वरिष्ठ उपाध्यक्ष लालबहादुर बिसीले जानकारी दिए।