३३ दलीय मोर्चा वार्तामा बस्न तयार

२०७० श्रावण १८ गते, शुक्रबार

काठमाडौं, १८ साउन। नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सरकारसँग वार्तामा बस्न तयार भएको छ । सरकारले बुधबार निर्शत वार्तामा बस्न आहृवान गरेपछि शुक्रबार बसेको ३३ दलहरुको बैठकले वार्तामा बस्ने औपचारिक निर्णय गरेको हो ।तर, सरकारको पत्रमा ‘३३ दलीय मोर्चा’ प्रष्ट किटान नभएकाले यसलाई थप सम्बोधन गर्नु पर्ने ३३ दलको सर्त छ । बैठकपछि माओवादी सचिव देव गुरुङद्वारा मोर्चाका तर्फबाट जारी विज्ञप्तिमा पनि आन्दोलनसंगै वार्ता र सम्वादबाट पनि राजनीतिक निकाश खोज्ने भन्दै वार्तामा बस्ने नीतिगत निर्णय भएको उल्लेख छ । ‘सरकारले नेकपा-माओवादीका नाममा पछिल्लो समयमा वार्ताको लागि पठाएको पत्रको सन्दर्भमा बैठकमा छलफल हुँदा आन्दोलनसंगै वार्ता र सम्वादबाट पनि राजनीतिक निकाशका लागि ३३ दलीय मोर्चा सधै सकारात्मक रहेकोले वार्तामा बस्ने नीतिगत निर्णय गरियो’ विज्ञप्तिमा भनिएको छ- ‘वार्ताका लागि सरकारले पठाएको उक्त पत्रमा ३३ दलको स्पष्ट अस्तित्व किटान नगरिएकाले वार्ताका लागि ३३ दलीय मोर्चालाई सम्बोधन गर्न आवश्यक छ भन्नेसमेत निर्णय गरियो ।’
मोर्चाले निर्वाचनको सर्त हटाइए चार दलीय उच्चस्तरीय राजनीतिक समितिसँग पनि वार्ता गर्न तयार रहेको बताएको छ । निर्वाचनका लागि भन्दै वार्तामा बोलाएर शर्त राखेको भन्दै हालै मात्र मोर्चाले निशर्त वार्तामा बस्ने राजनीतिक समितिलाई जवाफी पत्र पठाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]