सहमतिमा नआए संघर्षमा जान्छौः विप्लव

पोखरा, ३२ साउन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले सबै राजनीतिक दलहरूबीच उच्चस्तरीय सहमति मा नआए पार्टी सङ्घर्षमा जाने बताएका छन् ।संयुक्त आन्दोलन परिचालन समिति तमुवानद्वारा पोखरामा आयोजना गरिएको अन्तरक्रियामा उनले संविधानका अन्तरवस्तुबारे पहिला प्याकेजमा सहमति हुनुपर्नेमा जोड दिए ।विश्वका धेरै मुलुकमा संविधानसभाबाहेक सहमतिबाट पनि संविधान बनेका र ती संविधान वषौंसम्म चलेको उदाहरण पेस गर्दै सचिव विप्लवले अर्बौ खर्च गरेर बन्ने दोस्रो संविधानसभाले पनि नयाँ संविधान दिन सक्छ भन्ने सुनिश्चित नभएको दाबि गरे ।
पहिलो संविधानसभाले संविधानको ९० प्रतिशत काम पूरा गरिसकेको छ अब बाँकी १० प्रतिशत काम उच्चस्तरीय सहमतिबाटै पूरा गर्न सकियो भने बीसौं अर्ब रुपैयाँ वचत हुन सक्छ र त्यो पैसा जलविद्युत तथा अन्य विकास योजनामा खर्च गर्न सकिने उनको तर्क थियो ।
आगामी मङ्सिर ४ गते गर्ने भनिएको संविधानसभाको निर्वाचनले जनताका सम्पूर्ण विषयलाई उल्टाउने बताउँदै उहाँले जवर्जस्ती संविधानसभाको निर्वाचन गरिए नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले जनतालाई उचालेर सङ्घर्ष गर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, एमालेका उपाध्यक्ष लीलाधर पौडेल, राप्रपा नेपालका अध्यक्ष जयलाल पुन, राप्रपा कास्कीका सदस्य नरहरि तिमिल्सिनालगायतले आफ्नो धारणा राखेका थिए ।