मोर्चाको प्रस्ताव अस्वीकार

काठमाडौ, ८ भदौ – गोलमेच सम्मेलनमार्फत समाधान खोज्ने नेकपा माओवादी नेतृत्वको मोर्चाको प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरेको छ । नेकपा माओवादी नेतृत्वको मोर्चाले सरकार फेर्ने र चुनाव सार्नेसहितको ५ बुँदे प्रस्ताव गरेपछि राजनीतिक समितिमा रहेका दलले त्यसलाई अस्वीकार गरेका हुन् । नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले राखेको ५ बुदेँ मागमा नयाँ राष्ट्रिय सहमतिका आधारमा अधिकार सम्पन्न गोलमेच सम्मेलनद्धारा समस्याको समाधान गर्ने, पाँच दलिय संयन्त्र र आन्दोलनरत दुबै पक्ष मिलेर गोलमेचसभाको आयोजना गर्ने,बिघठित संविधानसभामा सभासद भएका दलहरु, आन्दोलनमा सम्लग्न दलहरु लाई गोलमेच सभामा सहभागि गराईनुपर्ने र सरकोकारवाला पक्ष, बर्ग,जाति, लिंग, आदीका प्रतिनिधीहरुलाई पर्यबेक्षक बनाउनुपर्ने,वार्ताको छलफलको बिषयबस्तु-निर्वाचन मिति, सरकार गठन समिक्षा नयाँ संविधानका अन्तरबस्तु,संविधान बनाउने प्रक्रिया, पद्धति, शान्ति प्रक्रियाका बाकी काम र १८ बुदे प्रस्ताबनामा प्रस्तुत बाँकी बिषय,गोलमेचसभाको बिधी र प्रक्रिया-सहमतिका आधारमा निर्णय लिने छन् । शनिबार भएको वार्तामा मोर्चाले चुनावको मिति घोषणा र सरकार गठनबारे पनि गोलमेच सभामार्फत टुंगो लगाउने प्रस्ताव गरेपछि समितिले त्यसप्रति असहमति जनाउदै माग पुरा गर्न नसकिने बताएको हो ।
वार्तापछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकार फेर्ने र मंसिर ४ गतेको चुनाव सार्ने गरि कुनैपनि सहमति गर्न नसकिने भएकाले अव गोलमेच सम्मेलन नहुने र त्यसको औचित्य सकिएको बताए ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मंसिर ४ को चुनाव नसार्ने गरी मात्रै गोलमेच सम्मेलनमा जान सकिने बारे समिति यसअघि लचिलो भएपनि मोर्चाले चुनाव सार्ने र सरकार फेर्ने गरि गोलमेच सम्मेलन गर्ने प्रस्ताव गरेपछि त्यसमा पुनर्विचार गर्ने आग्रह गरेको जानकारी दिए ।
वार्तापछि नेकपा माओवादीका सचिव देव गुरुङ्गले आफ्ना कुरामात्रै सही भन्ने गरी समितिले प्रस्ताव अस्वीकार गरेर गम्भिर भुल गरेको टिप्पणी गरे ।
अब आन्दोलनमार्फत माग पुरा गराउने गुरुङ्गको दावी छ । वार्तामा मोर्चाले राजनीतिक संयन्त्र र आन्दोलनरत पक्षले आयोजना गर्ने गोलमेच सम्मेलनबाट चुनावको मिति र सरकार गठन, संविधान निर्माणको प्रक्रियाबारे टुंगो लगाउने, सभामा विघटित संविधानसभाका सवै राजनीतिक दल सहभागि हुने लगायत विषय समेटेर ५ बुँदे प्रस्ताव पेश गरेको थियो ।