चुनाव चैतमा

काठमाडौँ, । राष्ट्रपति डाक्टर रामबरण यादबले आहृवान गरेको सर्वदलीय बैठकमा नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले संविधानसभाको चुनाव चैतमा सार्न ४ बुँदे लिखित प्रस्ताव पेश गरेको छ । अन्तरिम संविधानको धारा ३८ (१) अनुसार अघि बढे खिलराज रेग्मीकै नेतृत्वको सरकार स्वीकार गर्ने ३३ दलीय मोर्चाको प्रस्ताव छ । माओवादीसहितको ३३ दलीय मोर्चा ले प्रधानन्यायधिश पदबाट अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राजीनामा दिए मंसिरमा नभइ चैत्रमा चुनाव सार्नुपर्ने भन्दै चुनावमा सहभागि हुने जनाउ दिएका हुन् ।
राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलन, वर्तमान सरकार खारेज गरी दलीय सरकार गठन गर्नुपर्ने , पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितका माग माओवादीसहितको ३३ दलीय मोर्चा ले राखेको छ । सर्बदलीय बैठकमा जानु अघि बुद्धनगरमा भएको ३३ दलीय मोर्चा को बैठकले ४ बुँदे प्रस्ताव तयार पारेको थियो । छलफलमा अन्य दलहरुले भने नेकपा-माओवादी चुनावमा आउने सुनिश्चितता भए चुनाव सार्न सकिने संकेत गरेका थिए । बैठकपछि नेकपा माओवादीका सचिब देब गुरुङले छलफल सकरात्मक रहेको र सहमति हुन सक्ने बताए । एमाले अध्यक्ष झलनाल खनालले पनि केहिदिन भित्र सहमति हुने भन्दै छलफल सकरात्मक भएको प्रतिक्रिया दिए ।
राष्ट्रपति डाक्टर रामबरण यादबले भने निर्वाचनलाई मध्यनजर गर्दे सबै बिवाद थाती राखेर अघि बढ्न आग्रह गरेका थिए । छलफलमा कोइरालासगै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, मधेषी मोर्चाका तर्फबाट बिजय कुमार गच्छदार लगायतका साना दलहरुको पनि सहभागिता रहेको थियो । छलफलमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, सचिव देव गुरुङ पनि सहभागि थिए । अर्को बैठक अब आगामी आइतबार १ बजे बस्नेछ ।
राष्ट्रपति डाक्टर रामबरण यादबले आहृवान गरेको सर्वदलीय बैठकमा माओवादीसहितको ३३ दलीय मोर्चाले राखेको प्रस्तावहरु:
१. राष्ट्रिय सहमतिको लागि गोलमेच सभाको आयोजना गरिनुपर्ने । गोलमेच सभामा संविधानसभाका सदस्य रहेका दलहरुका साथै आन्दोलनरत दलहरुलाई सहभागी गराइनुपर्ने । गोलमेच सभाको निर्णय प्रक्रिया सहमतिको आधारमा हुनुपर्ने ।
२. वर्तमान सरकारको सट्टा संविधानको धारा ३८ (१) अनुसारको दलीय सरकार गठन गरिनुपर्ने । दलीय सरकारको स्वरुप र त्यसको नेतृत्व बारेमा छलफल गरी सहमति कायम गर्न सकिने । वर्तमान सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानन्यायाधीश ज्यूले प्रधानन्यायाधीश पदबाट राजिनामा दिन तयार हुनुभएमा वहाँकै नेतृत्वमा पनि दलीय सरकार गठन गर्न सकिने छ ।
३. निर्वाचनमा सबै दलहरुलाई सहभागी गराउन राष्ट्रिय सहमतिमा संविधानसभाको दोस्रो निर्वाचन २०७० साल चैत्र महिनामा सार्ने ।
४. नयाँ संविधान निर्माणका मूलभूत अन्तर्वस्तुहरु, नयाँ संविधान निर्माणको मार्गचित्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत १८ बुँदामा उठाइएका विषयहरु गोलमेचसभामा छलफलको कार्यसूची बनाई आवश्यक निर्णय गर्ने ।