जनवादी क्रान्ति हुन बाँकी : किरण

काठमाडौं ,६ असोज – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जनवादी क्रान्ति पूरा गर्ने क्रममा गरिएका यस अघिका सबै आन्दोलन गलत सम्झौताका कारण अपूरो भएकाले अबको क्रान्ति थप सशक्त हुनुपर्ने बताएका छन्। प्रगतिशील लेखक सङ्घको पुरस्कार वितरण तथा विचागोष्ठी कार्यक्रममा अध्यक्ष किरणले माओवादीको सशस्त्र युद्धलाई समाप्त पार्न २०६२ सालमा भएको १२ बुँदे सहमति पनि गलत भएको बताए।उनले राजतन्त्र ढलेपनि सामन्तवाद, साम्राज्यवाद र विस्तारवादलाई ढाल्ने गरी जनवादी क्रान्ति हुन बाँकी रहेको बताए । क्रान्तिका लागि लेखक र कलाकारलाई दबाबको भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे। कार्यक्रममा संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार शार्दुल भट्टराईलाई प्रदान गरे। पुरस्कारको राशि रु १० हजार रहेको छ। कार्यक्रममा ‘प्रलेसका ६ दशक र भावी कार्यदिशा’बारे विभिन्न वक्ताले बोलेका थिए। वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले प्रगतिवादी साहित्यले राजनीतिक परिवर्तन र आन्दोलनलाई सशक्त रुपमा सघाउँदै आएको भन्दै अब सांस्कृतिक रुपान्तरणमा लाग्न सुझाव दिए।यस्तै शान्तदास मानन्धर, रोशन जनकपुरी र शान्ता मानवीले पनि प्रलेसको ऐतिहासिक भूमिकाको चर्चा गरेका थिए।