राष्ट्रपति विदेशीसँग झुके :किरण

काठमाडौं, ७ असोज,। ३३ दलले राजधानीको खुलामञ्चमा गरेको विरोध सभालै सम्बोधन गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रपति पनि वैदेशिक हस्तक्षेप सामू झुकेको बताएका छन् ।किरणले रेग्मी सरकारलाई कठपुतलीको संज्ञा दिदै कर्मचारीलाई सरकारको नेतृत्व सुम्पने चार दलका नेतालाई राजनीतिक गर्न छाडेर जोगी भई कमण्डलु बोकेर हिँड्न सुझाएका छन् ।किरणले पछिल्लो समय राष्ट्रपति विदेशीको निर्देशनमा चलेको बताउदै ‘संवैधानिक संयन्त्रको रुपमा रहेका राष्ट्रपतिमाथि हामीलाई थोरै भए पनि विश्वास थियो । मैले सकेसम्म सहमतिको प्रयास गर्छु भनेरहामीलाई आश्वासन पनि दिनुभएको थियो’ ’तर, उहाँ पनि बग्नु भो, विस्तारवादका सामू झुक्नु भो अध्यक्ष किरणले प्रस्ट्याए ।हजारौ कार्यकर्तामाझ सभालाई सम्बोधन गरेका माओवादी अध्यक्ष किरणले आफूहरुले चुनावमा जान चाहेको तर, वैदेशिक हस्तक्षेपका कारण सहमति हुन नसकेको बताए । गोलमेच सम्मेलनमा जाने सहमति भए पनि विदेशीको निर्देशनमा दलहरु पछाडि हटेको दाबी गर्दै उनले भने – ‘पूरै निर्देशन आयो । गोलमेच सम्मेलनमा जाँदैनौं भनेपछि सब चिज बिगि्रयो ।’
अध्यक्ष किरणले खिलराज रेग्मी सरकारलाई कठपुतलीको संज्ञा दिँदै चार दल र सरकार विदेशीको इशारामा चलेको बताए । वार्ताका क्रममा एमाओवादी र कांग्रेसका नेताहरुबाट समेत षड्यन्त्र भएको अध्यक्ष किरणको भनाइ थियो । कांग्रेसका केही नेताले माओवादी चुनावमा आए एमाओवादीसँग तालमेल गरेर जाने र कांग्रेस एमालेलाई हराउने भ्रम छरेको तथा एमाओवादीले ३३ दल चुनावमा आए आफू हार्ने र बहिस्कारमा जाँदा जित्ने देखेको अध्यक्ष किरणले बताए ।
चुनाव गर्न नसक्ने, सरकारी कर्मचारीलाई प्रधानमन्त्री बनिदिनु पर्यो भन्दै विन्ती हाल्ने चार दलको औचित्य सकिएकोअध्यक्ष किरणको जिकिर थियो । किरणले भने – ‘जसले चुनाव गर्न सक्दैन, उनीहरुले आफैं अस्तित्व समाप्त पारेका छन् । जोगी भएर कमण्डलु भिरेर हिँडे हुन्छ । किन राजनीति गर्नुहुन्छ ?’
नेपाललाई सिक्किमीकरण गर्न खोजेको भन्दै उनले चार दलका नेताहरुलाई नेपाली लेण्डुपदोर्जेको संज्ञा दिए । आफूहरु अग्रगामी शक्ति भएको भन्दै किरणले अरुलाई पश्चगामी भन्दै अग्रगामी र पश्चगामीहरुको बीचमा भिषण राजनीतिक संघर्ष चलिरहेको बताए ।सम्बोधनका क्रममा आफूहरु चुनावमा जान चाहेको तर, विदेशीले नदिएको तर, अझै वार्ताको ढोका खुला राख्ने बताएका अध्यक्ष किरणले अब संविधानसभाको औचित्य सकिएको बताए ।