जबर्जस्ती निर्वाचन गर्न खोजिए फेरी अर्को द्वन्द्व :किरण

२०७० आश्विन १२ गते, शनिबार

काठमाडौं, १२ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन किरणले आफूलाई बाहिरै राखेर जबर्जस्ती संविधानसभाको निर्वाचन गर्न खोजिए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुने बताउनुभएको छ । कवयित्री सुशीला गिरीद्वारा लिखित ‘ज्वाला’ कविता सङ्ग्रहको सार्वजनिकीकरण गर्दै अध्यक्ष किरणले जनयुद्धको एक पक्षलाई पाखा राखेर गरिने निर्वाचनले शान्ति प्रक्रियाले पूर्णता नपाउनेतर्फ सचेत गराए ।हरेक पार्टीमा तेत्तीसदलीय मोर्चालाई सहभागी गराएरमात्रै निर्वाचनमा जानुपर्छ भन्नेहरुको ठूलो हिस्सा रहेको बताउँदै उनले सहमतिबाटै समस्याको समाधान निकाल्न पहल गर्नका लागि सबैसँग आग्रह गरे ।
उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरु, राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्ष सबैले अहिलेको राजनीतिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने भन्दै उनले उच्चस्तरीय राजनीतिक समितिलाई यसअघिको आफ्नो निर्णयलाई पुनर्विचार गर्नु पर्ने बताए ।
कविता सङ्ग्रहबारे चर्चा गर्दै अध्यक्ष किरणले कवितामा शोषण, उत्पीडन, दमन तथा अन्यायको विरोध र मुक्तिका स्वरहरु सशक्तरुपमा मुखरित भएको बताए ।
कार्यक्रममा लेखक तथा साहित्यकारहरु नरेन्द्रजङ पिटर, प्रेम कैदी र खेम थपलियाले कविता सङ्ग्रहबारे टिप्पणी गर्दै नारी संवेदनादेखि राष्ट्रिय संवेदनासम्मका विषयलाई उत्कृष्ट ढङ्गले कवयित्री गिरीले कविता मार्फत प्रस्तुत गरेको धारणा राखेका थिए ।
कविता सङ्ग्रहकी लेखिका गिरीले बाल्यकालदेखि नै कविता लेख्ने आफ्नो चाहना पूरा गर्ने क्रममा पहिलो प्रकाशनका रुपमा कविता सङ्ग्रह ल्याएको र यसलाई निरन्तरता दिने भनाइ राखेकी थिइन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु