३३ दलीय मोर्चाद्वारा वार्ताको आह्वान

काठमाडौं, १३असोज – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले वार्ताका लागि चार दललाई आह्वान गरेको छ ।मोर्चाको आइतबार बसेको बैठकले राष्ट्रिय सहमति बिना मुलुकले स्थायी शान्ति नपाउने भन्दै वार्ताका लागि चार दललाई आह्वान गरेको हो ।
संविधान सभा चुनावका विषयमा मोर्चाको धारणा पहिले भन्दै फरक देखिएको छ । मोर्चाका तर्फबाट नेकपा माओवादीका सचिव देव गुरुङले निकालेको विज्ञप्तिमा लेखिएको छ ‘विद्यमान सङ्कट समाधान गर्दै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नका लागि वार्ता गर्नुपर्छ ।’
यसअघि संविधान सभाको चुनाव वा संविधान सभाको दोस्रो चुनाव भनेर लेख्दा समेत उच्च स्तरीय राजनीतिक समितिको पत्र अस्वीकार गरेको नेकपा माओवादीले विज्ञप्तिमा संविधान सभाको दोस्रो चुनाव सम्पन्न गर्ने वाक्यांश उल्लेख गर्नुलाई पहिले भन्दा लचिलो भएको रुपमा हेरिएको छ ।
अरु दलले नेकपा माओवादी चुनावमा आउन नचाहेको आशंका गरेकोले विज्ञप्तिमा त्यसलाई प्रष्ट लेखेर संविधान सभा चुनावको प्रतिवद्धता प्रष्ट गरिएको ३३ दलीय मोर्चामा आवद्ध क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए ।
मोर्चाले विज्ञप्तिमा भनेको छ ‘वर्तमान समस्या समाधानका लागि दलहरुबीच राष्ट्रिय सहमति कायम गरी नयाँ संविधान निर्माण र त्यसको लागि निर्वाचन गरिनुको विकल्प छैन ।’
मोर्चाले सेना परिचालन गर्ने निर्णयको विरोध गर्दै अन्तरिम संविधानको अभिन्न अङ्गको रुपमा रहेको बृहत् शान्ति सम्झौताले नेपाली सेना परिचालन गर्नसक्ने व्यवस्था गरेको छैन भन्दै त्यसतर्फ चार दलको ध्यानाकर्षण गराएको छ ।सेना परिचालनको निर्णय खारेज गर्न मोर्चाले आग्रह गरेको छ । प्रमुख राजनीतिक दलले वार्ता आह्वान हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । प्रमुख राजनीतिक दलले नेकपा माओवादीले वार्ता आह्वान गरेकोमा त्यसलाई सकारात्मक बताएका छन् ।