चुनाव सार्नु पर्छ : सुजाता

काठमाडौं,१५ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेकपा–माओवादीलगायत असन्तुष्ट दललाई चुनावमा ल्याउन मंसिर चारको चुनाव सार्न सुझाव दिएकि छन् । आफ्नै निवास मण्डिखाटारमा मंगलबार पत्रकार सम्मेलन गरी नेतृ कोइरालाले असन्तुष्ट ३३ दललाई बाहिर राखेर गरिने चुनावले देशलाई निकास नदिने भन्दै चुनाव सानुपर्ने सुझाव दिएकि हुन् । उनले असन्तुष्टहरूलाई चुनावमा सहभागी गराउन चार दलका शीर्ष नेताहरूले गम्भीर वार्ता नगरी नेकपा–माओवादीलाई जंगल पठाउने काम गरेको आरोप लगाइन । नेतृ कोइरालाले उम्मेदवार छनोटमा विदेशी शक्तिको चलखेल भएको दाबी गर्दै पैसाको चलखेल भएको आरोप पनि लगाइन । उनले तराईमा नेपाली कांग्रेसको आधार भत्काउन कांग्रेसकै व्यक्तिले केही नेता–कार्यकर्तालाई एकीकृत माओवादीमा प्रवेश गराएको आरोपसमेत लगाइन ।