आज सेती – महाकाली बन्द

धनगढी,३ कार्तिक । नेकपा-माओवादीले शान्तिपूर्ण आन्दोलनको बेला आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज सेती-महाकाली बन्दको घोषणा गरेको छ ।
३३ दलीय मोर्चाद्वारा घोषित कार्यक्रम अनुसार ४ दलका शिर्ष नेतृत्वहरुलाई जिल्ला भ्रमण निषेध कार्यक्रम अनुसार आज डोटीमा आयोजित चुनावी समारोहलाई सम्बोधन गर्न पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई डोटी प्रवेशमा रोक लगाउन डोटी, अछाम र बाजुरामा यातायत बन्दको आयोजना गरिएको थियो । “राजनैतिक मुद्दामा असहमति जनाउन पाउने लोकतान्त्रीक मान्यता विपरित डोटी जिल्ला यातायात बन्दको आव्हान गरेका वाहनामा हाम्रा पार्टीका डोटी जिल्ला इन्चार्ज विवेक, अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य दिपेन्द्र चलाउने, केन्द्रीय सचिवालय सदस्य गणेश रैकालर हाम्रो पार्टीको डोटी जिल्ला सचिवालय सदस्य विर बहादुर थापालाई गिरफ्तार गरिएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण साथै घोर आपत्ति छ” जारी विज्ञाप्तीमा भनिएको छ ।
राज्य समिति इन्चार्ज ओम पुन र सेक्रेटरी शरद सिंह भण्डारीले विज्ञाप्ती जारी गरी बन्दको घोषणा गरिएको हो । “कथित निर्वाचनको प्रचारमा लाखौ रकम खर्च गरि आएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जिल्ला प्रवेश निशेध कार्यक्रम अन्तरगत यातायात बन्दको बेला हाम्रो पार्टी डोटीका जिम्मेवार कमरेडहरुलाई गिरफ्तार गरिएकोमा त्यसको बदला स्वरुप थप भोली कार्तिक ३ गते सेती महाकाली बन्दको घोषणा गर्दछौं” विज्ञाप्तीमा भनिएको छ । सबै यातायात व्यवसायीहरुलाई आन्दोलनमा सहयोग गर्न अनुरोध गरिएको छ । माओवादीको सांगठानिक संरचना अनुसार सेती-महाकालीमा डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुला पर्दछन् ।