उम्मेदारलाई जनता लगाएर गाउँबाट लखेट्छौ : विप्लब

कपिलवस्तु,६ कात्तिक। नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द विप्लबले सरकार र तीन ठूला दलले निर्वाचनको निहुँ बनाएर द्वन्द्व निम्त्याउन खोजेको बताएका छन्। उनले विदेशीको इशारामा चलिरहेको यो कठपुतली सरकारले सेना परिचालन गरेर निर्वाचन गर्दा देश मुठभेडको स्थितिमा जाने पक्का भएको बताए। कपिलवस्तुको गोरुसिंगेमा ३३ दलले आयोजना गरेको निर्वाचन बहिष्कार सभालाई सम्बोधन गर्दै चन्दले खिलराज रेग्मीको सरकारले जनताको चाहनाविरुद्ध नेपाली सेना परिचालन गरेर देशलाई फेरी द्वन्द्वतर्फ धकेल्न खोजेको बताए ।आफूहरुले निर्वाचनमा भाग लिएका विभिन्न दलका उम्मेदारलाई जनता लगाएर गाउँबाट लखेट्न पठाएर कुनै पनि हालतमा मंसिर ४ मा चुनाव हुन नदिने उनले बताए। ‘जनता आफैं बहिष्कारमा लागेका छन्, हामीले नेतृत्वमात्र गरेका हौं, ‘ उनले भने। वास्तविक संविधान सभाको निर्वाचन यसअघि नै विफल भइसकेकाले अब गर्न लागिएको संविधान सभाको निर्वाचनको कुनै अर्थ नरहेको बताउँदै ‘हामीलगायत ३३ दल बहिष्कारको पक्षमा छौं, जनता नै यसको विपक्षमा छन्, अनि के का लागि निर्वाचन गर्ने’ उनले भने। कांग्रेस, एमालेले पटक-पटक जनताको पक्षमा काम गर्ने अवसर पाएर पनि त्यसको अवसर गुमाएको र प्रचण्ड नेतृत्वको माओवादीले जनतालाई धोका दिएको हुँदाजनता आफैं बहिष्कारको पक्षमा रहेको समेत उनले दाबी गरे। यसैगरी सोही कार्यक्रममा बोल्दै माओवादी पोलिटव्यूरो सदस्य खड्काबहादुर विश्वकर्मा प्रकाण्डले जनता समक्ष निर्वाचनमा होमीएका ठूला दलका नेताले कसैको पनि दुई तिहाइ नआए र बहुमत नपाए संविधान बन्दैन भन्ने धम्कीसमेत दिने गरेकाले यो संविधान सभाको निर्वाचन नौटंकीमात्र भएको ठोकुवा गरे । उनले चुनावको बहिष्कार गर्नु भनेको देशका ठूला दल र विदेशी शक्तिको मुखमा दह्रो थप्पड हान्नु रहेकाले त्यसलाई सफल बनाउन सम्पूर्ण नेपालीले आगामी निर्वाचन बहिष्कार गर्नुपर्ने बताए। कार्यक्रममा कपिलवस्तु जिल्ला इन्चार्ज चन्द्रबहादुर चन्द, अर्घाखाँचीका जिल्ला इन्चार्ज भेषराज भुसाल लगायतले निर्वाचन बहिष्कारको पक्षमा मन्तव्य दिएका थिए।