विभिन्न ठाउँमा बम, यातायात ठप्प

काठमाडौं,२८ कार्तिक । धरानका छुट्टाछुट्टै ४ स्थानमा बम भेटिएको छ । अज्ञात समूहले बम राखेको कारण धरान क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् ।
धरानको कलेज रोड र जिरो प्वाइन्टमा प्रेसर कुकर बम भेटिको, कोशी राजमार्गको साम्पाङ चोक र सिद्धार्थ मार्गमा सकेट बम भेटिएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीबाट आएको डिस्पोजल टोलीले बम निस्क्रिय पार्ने प्रयास जारी राखेको छ ।
बम कसले र किन राखेको भन्ने खुलेको छैन । पूर्वका विभिन्न स्थानमा केही दिनयता बम भेटिने गरे पनि त्यसको जिम्मेवारी भने कसैले लिएको छैन ।
यसैगरी , नेकपा माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको यातायात बन्दको तेस्रो दिन आज पनि राजधानी पूर्वका जिल्ला जाने र राजधानी भित्र्ने यातायातका साधन सञ्चालनमा आउन सकेको छ्रन् ।महानगरीय प्रहरी परिसर भक्तपुरको जगाती चेक पोष्ठका अनुसार भक्तपुर नाका हुदैँ अरनिको राजमार्ग भएर काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रोमछाप र ओखलढुंगातर्फ जाने कुनै पनि सार्वजनिक यातायातका साधन बाहिरिएको छैन । त्यस्तै बीपी राजमार्गअन्तर्गत बनेपा–बर्दिबास हुँदै तराईका विभिन्न जिल्लातर्फ जाने र राजधानी भित्रने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
राजधानी पूर्वमा यातायात सञ्चालन गर्र्दै आएका आधा दर्ज भन्दा बढी बस व्यवसायीहरुले यातायात चलाउन नमानेपछि यात्रुहरुले सास्ती खेपिरहेका छन् । व्यवसायीहरुले पर्याप्त सुरक्षा व्यवस्था नभएसम्म यातायात सञ्चालन गर्न नसक्ने बताएका छन् ।
राजधानीबाट ३० किलोमिटरको दुरीमा रहेको काभ्रेको सदरमुकाम धुलिखेलसम्म पनि यातायातका साधन चल्न सकेको छैन । व्यवसायीहरुले राजमार्गमा यातायात सञ्चालन गरे आफुहरु स्कटिङ गर्न तयार रहेको काभ्रेको प्रहरी प्रशासनले जनाएको छ । राजमार्गमा मोटरसाइकल, दुध तथा तरकारी, पर्यटकका गाडी तथा एम्बुलेन्सलगायतका अति आवश्यक सवारी साधनमा मात्रै चलेको देखिन्छ ।