राज्यले आतङ्क खडा गर्यो : किरण

२०७० मंसिर २ गते, आईतवार


काठमाडौं ,२ मंसिर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादीको बहिस्कार आन्दोलन शान्तिपूर्ण रहेको भन्दै सरकारका कारण कतिपय घटना भएको बताएका छन् । अध्यक्ष किरणले आज विज्ञप्ति जारी गर्दै आफूहरुको शान्तिपूर्ण आन्दोलनका विरुद्ध राज्यले असहिष्णुतापूर्वक राज्यको सम्पूर्ण शक्ति प्रयोग गरेर दमन-धरपकड गर्दै एकप्रकारको राज्य आतङ्क खडा गरेको बताएका छन् । गृहमन्त्री माधवप्रसाद घिमिरेले वम काण्डको निर्देशन दिनेलाई समेत गिरफ्तार गरिने बताएकै दिन किरणले वक्तव्य जारी गरी चुनाव बहिस्कारलाई सशक्त बनाउने उद्घोष गर्नुभएको हो ।
‘राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं’ किरणको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् ।’ माओवादी नेता किरणले आफूहरुको आन्दोलनलाई बदनाम गराउन केही शक्तिले हिंसात्मक घटना घटाएको दाबी गरेका छन् ।
‘कतिपय देशीविदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन्’ किरणको विज्ञप्तिमा भनिएको छ । आफ्नो वक्तव्यमा अध्यक्ष किरणले यातायात हड्ताल र चुनाव बहिस्कारको आन्दोलनलाई शान्तिपूर्ण र सशक्त पार्ने घोषणासमेत गरेका छन् ।
अध्यक्ष किरणले जारी गरेको प्रेसवक्तव्यको पूर्ण बिबरण यस प्रकार छ – “१. मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक सङ्कटको निकासको लागि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प छैन । त्यसको लागि हाम्रो पार्टीसहितको ३३ दलीय मोर्चाद्वारा पटकपटक संवादको पहल गरियो । सडक आन्दोलनका कार्यक्रमहरु पनि निरन्तर रुपमा सञ्चालन गरियो । परन्तु, सरकार र चार दलका शीर्ष नेताहरु हाम्रो आग्रहलाई निषेध गर्दै जबर्जस्त रुपमा राष्ट्रघाती र जनघाती निर्वाचनलाई थोपरिरहेका छन् । त्यसैले, उक्त निर्वाचनलाई हामीले सक्रिय रुपले बहिष्कार गर्ने निश्चित गरेका छौं । अतः राष्ट्रिय सहमतिको लागि यस निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्न सम्पूर्ण आदरणीय जनसमुदायमा हाम्रो पार्टी पुनः हार्दिक अनुरोध गर्दछ ।
२. राष्ट्रिय सहमतिको लागि सडक आन्दोलनको क्रममा हाम्रो पार्टीसहित ३३ दलीय मोर्चाको तर्फबाट आम हड्ताल र अत्यावश्यक वस्तु र सेवाका वाहनहरु बाहेकको चक्काजामका कार्यक्रमहरु आयोजना गर्दै आउने काम भएको छ । त्यसप्रकारको शान्तिपूर्ण आन्दोलनका विरुद्धमा राज्यले असहिष्णुतापूर्वक राज्यको सम्पूर्ण शक्ति प्रयोग गरेर दमन–धरपकड गर्दै एकप्रकारको राज्य आतङ्क खडा गरिरहेको छ । राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएको छ । त्यस क्रममा राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं । कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन् । त्यसैगरी, राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् । अतः सम्पूर्ण आन्दोलनकारी जनसमुदायहरुलाई ती सबै प्रकारका षड्यन्त्रहरुबाट सजग र सर्तक रहन हामी आग्रह गर्दछौं । साथै, हामी मंसिर ४ गते बेलुका ५ बजेसम्मको चक्काजामसहितको बहिष्कार आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र प्रभावकारी रुपमा सम्पन्न गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं ।
३. आन्दोलनको क्रममा मुगुस्थित हाम्रो पार्टीका केन्द्रीय सदस्य मंगल शाहीलगायत ३३ दलसम्बद्ध सयौं नेता–कार्यकर्ता र सर्वसाधारण जनतालाई गिरफ्तार गरी झुठा मुद्दाहरु लगाइएको छ । अतः गिरफ्तार गरिएका सम्पूर्ण बन्दीहरुलाई विनाशर्त रिहा गर्न पनि पार्टी जोडदार माग गर्दछ ।
४. अन्तमा, जुनसुकै परिस्थितिमा पनि फेरि पनि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प छैन । अतः संवाद र नयाँ राष्ट्रिय सहमतिको पक्षमा सरकार, राजनीतिक दलहरु र नागरिक समाज सबैबाट सकारात्मक पहलका लागि हाम्रो पार्टी पुनः हार्दिक आग्रह गर्दछ । “

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु