गृहमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : माओवादी

२०७० फाल्गुन २३ गते, शुक्रबार


काठमाडौं। नेकपा-माओवादीले उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले फुजेल घटनाको विषयमा संसदमा दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।माओवादीले आज एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री गौतमलाई गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन माग गरेको छ । उसले वेपत्ता नागरिक सार्वजनिक गर्न तथा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत उठेका समस्या समाधान गर्न पनि माग गरेको छ ।’१२ बुँदे समझदारी, वृहत शान्तिसम्झौता तथा अन्तरिम संविधानमा भएका वेपत्ता नागरिक सार्वजनिक गर्ने, सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लङ्घनबारे सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता सार्वजनिक गर्ने आयोग र वेपत्ता आयोगद्वारा सत्यतथ्य निरुपण गरी सामाजिक मेलमिलापको वातावरण निर्माण गर्ने पूर्वसहमतिविपरीत अभिव्यक्ति आएको माओवादी भनाइ छ ।’आफ्नो राजनीतिक गलत अभिष्ट पूरा गर्ने उद्देश्यले सामान्य कानुन बमोजिम घटना र मुद्दाहरुको एक-एक गरी छानबिन गर्ने, क्षतिपुर्ति दिने तथा कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने घोषणा गर्नु बृहत राजनीतिक सहमति अनुसार द्वन्द्व व्यवस्थापन र मेलमिलापको सरकारी दायित्वबाट पन्छिने निकृष्ट अभिव्यक्तिलाई हाम्रो पार्टी नेकपा-माओवादी घोर भत्र्सना एवम् निन्दा गर्दछ,’ विज्ञप्तीमा लेखिएको छ ।युद्धकालका राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दा खारेज गरी त्यस्ता मुद्दा लगाउनेलाई कारबाही गर्नुको सट्टा, वेपत्ता नागरिक सार्वजनिक गर्नुको सट्टा द्वन्द्व निम्त्याउने सार्वजनिक घोषणा गर्नु नितान्त गलत रहेको ठहर माओवादीको छ ।

प्रतिक्रियाहरु

[anycomment]