माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौं, २३ बैशाख। नेकपा – माओवादीले आगामी असार ८ गर्न लागिएको उप निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । हालै बसेको पार्टी पोलिटब्यूरो समितिको बैठकको निर्णय सार्वजनिक गर्दै माओवादीले उक्त घोषणा गरेको हो ।
‘असार ८ मा गर्ने भनिएको उपनिर्वाचनका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छौं, हामीले उठाएका मागहरु पूरा नहुन्जेलसम्म यो निर्वाचनको हामी विरोध गर्छौं’, अध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापा बादलले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।विज्ञाप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ -“२०७१ साल वैशाख २१ र २२ गते क। किरणको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी-माओवादीको पोलिटब्युरोको बैठक सम्पन्न भयो । बैठकमा लिइएका निर्णयहरुबारे प्रेसविज्ञप्ति मार्फत निम्नानुसार सार्वजनिक गरिएको छ ।
१ महान् अमर सहिदहरुको सम्झना गर्दै वहाँहरुप्रति मुट्ठी उठाई स-सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२ अध्यक्ष क। किरणद्वारा वर्तमान राजनीतिक परिस्थिति, सांगठनिक अवस्था र समस्याबारे संक्षिप्तमा मौखिक रिपोर्ट प्रस्तुत भयो । मूलतः देशव्यापी रुपमा जिल्ला सम्मेलनहरु सफलतापूर्वक सम्पन्न भएको र पार्टीलाई सुदृढीकरण गर्न तथा जनताको बीचमा पुर्याउनका लागि राम्रो आधार तयार बन्दै गएको अवस्थाबारे प्रकाश पारियो ।
३ राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरुलाई लिई निम्नानुसार आन्दोलनको कार्यक्रम निर्धारित गरिएको छ ः
जेठ १ गतेः विद्यार्थी संगठनबाट विद्यार्थी दिवस मनाउने ।
जेठ ५ गतेः सर्वपक्षीय राजनीतिक सभाको माग गर्दै सहमत हुने राजनीतिक दलहरुसित आवश्यक परामर्श गरी संयुक्त जनसमितिसहित भई ज्ञापनपत्र दिने ।
जेठ ७ गतेः राज्यद्वारा वेपत्ता योद्धा परिवार समाजको आयोजनामा शान्तिवाटिकामा काठमाडौं उपत्यकास्तरीय वेपत्ता योद्धा स्मरण दिवस मनाउन पहल तथा सहयोग गर्ने ।
जेठ १४ गतेः संविधानसभा विघटन गरिएकोमा सो दिन त्यसको विरोधमा सर्वपक्षीय राजनीतिक सभाको मागका साथै देशमा व्याप्त भ्रष्टाचार, महङ्गी, अभाव, बेरोजगारी लगायतका विषयमा सहमत हुने राजनीतिक दलहरुसहित सबै जबस मोर्चाहरुलाई समेत सहभागी गराई राजधानीमा बृहत् जनप्रदर्शन गर्ने ।
जेठ २५ गतेः जलस्रोत र राष्ट्रघातको विषयलाई लिएर जलस्रोत विभागबाट काठमाडौंमा गोष्ठीको आयोजना गर्ने र माथिल्लो कर्णाली, अरुण तेस्रो, कोशी उच्च बाँध तथा माथिल्लो मस्र्याङ्दी आयोजनासित सम्बन्धित जिल्लाहरुमा विरोधका कार्यक्रमहरु सम्पन्न गर्ने ।
जेठ ३० गतेः मल, विउ, कृषि औजार लगायतका विषयलाई लिएर किसान संघको तर्फबाट सबै जिल्लाका प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र दिने ।
४ असार ८ गते हुन गइरहेको दोस्रो संविधानसभाको कथित उपनिर्वाचनको बहिष्कार गर्ने निर्णय गरिएको छ ।
५ यही २०७१ साल असारको दोस्रो सातामा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय लिइएको छ ।
६ केही समय यता नेकपा ९एकीकृत० र क्रान्तिकारी कम्युनिस्ट केन्द्रसित सकारात्मक रुपमा एकता वार्ता अगाडि बढिरहेको छ र त्यसलाई सार्थक निष्कर्षमा पुर्याउने प्रयास भइरहेको छ ।
७ हाम्रो पार्टीको गत केन्द्रीय समितिको बैठकमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी माओवादी कम्युनिस्ट केन्द्रका रुपमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय लिइएको थियो । आज नेपाली कम्युनिस्ट आन्दोलनमा एकता र ध्रुवीकरणबारे नयाँ बहसको थालनी भएको छ । यसप्रकारको स्थितिमा हाम्रो पार्टीको पोलिटब्युरोको बैठकमा क्रान्तिकारी कम्युनिस्टहरुको एकताको लागि निम्नानुसार सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक आधारका रुपमा निम्न विषयलाई प्रस्तुत गरिएको छ ः
माक्र्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने ।
नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने ।
संसदवादलाई अस्वीकार गर्ने ।
सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने ।
पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने ।
जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी हुने ।
उक्त कामका लागि वार्ता संवाद गर्ने जिम्मा केन्द्रीय पदाधिकारी कमरेडहरुलाई दिइएको छ ।
८ गतसालको वर्षायाममा महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला जिल्लाको सदरमुकाम क्षतविक्षत हुन गएको र भौतिक संरचना तथा जनधनको ठूलो क्षति भएको गम्भीर अवस्थामाथि विशेष ध्यान दिंदैे सो क्षेत्रको बाढी नियन्त्रण, सीमा सुरक्षा, जनधनको रक्षा, पीडितहरुका लागि समुचित राहतको व्यवस्था लगायतका विषयमा आवश्यक कदम चाल्नका लागि हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।
९ हालै रौतहट लगायत देशका विभिन्न जिल्लाहरुमा भएको आगलागीबाट हुनगएको क्षतिको सन्दर्भमा सरकारबाट अविलम्ब उद्धार तथा राहतको व्यवस्था गरियोस् । त्यसैगरी विभिन्न स्थानमा बनमा लागेको डढेलो नियन्त्रण गरी बनको संरक्षण गरियोस् ।
१० गत मंसिर ४ गतेको निर्वाचन बहिष्कारको दौरानमा ताप्लेजुङलगायत विभिन्न जिल्लाहरुमा लगाइएका झुट्ठा मुद्दाहरुलाई अबिलम्ब खारेज गरी ताप्लेजुङका बन्दी साथीहरुलाई तुरुन्त रिहाई गरियोस् ।”