माओवादीलाइ बेवास्ता गरे आन्दोलन : विप्लब

काठमाडौं, ९ जेष्ठ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले संसदवादी दलहरु आफूहरुलाई बेवास्ता गरेर अघि बढेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज ललितपुरमा माओवादी मजदुर संगठनले गरेको कार्यक्रममा विप्लबले नेकपा–माओवादीलाई बाहिर राखेर शान्ति र संविधान लेखनको प्रक्रिया अघि बढ्न नसक्ने जिकिर गरे ।सचिव विप्लबले नेपाली कांग्रेस लगायतका दलले विस्तृत शान्ति सम्झौता विपरित नेकपा–माओवादीको भूमिकालाई बेवास्ता गर्ने गरेको आरोप बताए ।मुलुकमा सच्चा कम्युनिष्टहरुबीच एकताको विकल्प नरहेको भन्दै उनले यथास्थितिमा भने कसैसँग एकता नहुने बताए । पद र पैसाको पछि लागेका कारण एमाओवादीका शीर्षनेताहरु पतनको बाटोतर्फ अघि बढेको विप्लबको कथन थियो ।
कार्यक्रममा स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका केन्द्रीय महासचिवसहित उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी ४ दर्जनभन्दा बढि नेता कार्यकर्ता नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघमा प्रवेश गरेका छन् ।कार्यक्रममा अविर लगाएर पार्टी प्रबेस गराउँदै सचिव विप्लवले मजदुरको अधिकारलाई संस्थागत गर्न र मजदुर वर्गीय पार्टी निर्माणका लागि सबै उत्पीडित मजदुरहरु एकतावद्ध भएर निर्णयक क्रान्तिका लागि लाग्नुपर्ने बताए । अखिल नेपाल क्रातिकारी टे्रड यूनियन महासंघका संयोजक रामदिप आचार्यले मजदुर वर्गीय पार्टी निर्माण अहिले प्रमुख कार्यभार भएकाले सबै उत्पीडित मजदुरहरु क्रान्तिकारी मजदुर आन्दोलन वरिपरी गोलवद्ध हुनुपर्ने धारणा राखे ।
सो कार्यक्रममा स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका उपाध्यक्ष बुद्धिनाथ शिवाकोटी, कोषाध्यक्ष मञ्जु भट्टर्राईलगायत ४ दर्जनभन्दा बढि नेता कार्यकर्ता नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघमा प्रवेश गरेका थिए ।