‘ संविधानसभा’ माओवादीलाई सिध्याउन खडा गरिएको ‘डमी’ हो :विप्लव

२०७१ पुष ११ गते, शुक्रबार

काठमाडौं – नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले संविधानसभा भंगको माग गर्दै राष्ट्रिय राजनीतिक सभामार्फत संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।काठमाडौंको खुलामञ्चमा शुक्रबार भएको आमसभामा विप्लवले संविधानसभाबाट निर्माण हुने संविधान स्वीकार नगर्ने धारणा राखे । ‘यो संविधानसभा ‘फेक’ संविधानसभा हो,’ मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट अलग भएपछि पहिलोपटक खुलामञ्चमा गरिएको सभामा विप्लवले भने, ‘यो बैधानिक संविधानसभा होइन, जनताले अनुमोदन गरेको संविधानसभा होइन ।’संविधानसभालाई माओवादीलाई सिध्याउन ‘डमी’कारुपमा खडा गरिएको टिप्पणी लगाउँदै विप्लवले संविधानसभामा जनताको बहस पनि नभएको बताए । ‘त्यसैले यो संविधनसभा भंग गरिनुपर्छ,’ उनले भने, राष्ट्रिय राजनीतिक सभा गठन गरेर त्यहाँबाट नागरिकका अधिकार सुनिश्ति हुने खालको संविधान लेखिनुपर्छ ।’
जनसभामा बोल्दै संयोजक ‘विप्लवले आफूहरुले फैलाएको शान्तिको हातलाई वेवास्ता गरेर युद्ध थोपरेमा युद्धको जवाफ युद्धले दिने घोषणा गरेका छन् । संयोजक विप्लवले जुन सहमति गरेर माओवादी जनयुद्ध शान्ति प्रक्रियामा प्रवेश गरेको हो त्यसमा इमानदार बन्न संसदवादी दलहरुलाई आग्रह समेत गरेका छन् । १२२ औं माओ दिवसको अवसरमा खुलामञ्चमा आयोजना गरिएको जनसभामा सम्वोधन गर्दै नेता विप्लवले माओवादीमाथि अहिले जवरजस्त युद्ध थोपर्न थालिएको बताए । उनले जनताका अधिकारलाई छिनेर विदेशीको डिजाइनमा नेपालमा प्रतिक्रान्ति थापर्ने प्रयत्न गरिएमा प्रतिक्रान्तिको जवाफ क्रान्तिले दिने बताए । माओवादीको सम्पूर्ण शक्तिलाई क्षिण बनाएर तथा सम्पूर्ण शस्त्र अस्त्र कब्जा गरेर पेल्दै पेल्दै डिलमा ल्याइएको बताउँदै नेता विप्लवले अब माओवादीहरुले त्यो ढिकबाट पैतला जमाएर लड्नुको विकल्प नभएको बताए । उनले माओवादीका प्रमुख नेताहरुले माओवादीको आन्दोलनको एजेण्डालाई उठाउन नसक्दैमा वा उनीहरुलाई मात्र संसदभित्र हुल्दैमा जनयुद्धका एजेण्डा, जनताका सपना, अधिकार नसकिने बताए । उनले रगत पसिना बगाएर आन्दोलनमा होमिने माओवादी कतै नगएको बताए । उनले भने, माओवादीलाई जनताले नायक बनाएको हो । नायक बनाएको हो । तर, नायकहरु जोकरमा परिणत हुन्छन् त हामीले के गर्ने ?” इतिहासले आफूहरुलाई आन्दोलनका बाँकी कार्यभारहरु पूरा गर्न र आन्दोलनमाथि उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने ठाउँमा पुर्याएको नेता विप्लवले बताए । उनले भने, “हामी फुच्चे र धेरै दविएका मान्छेहरु यो मञ्चमा आइपुगेका छौं । तर, हामी जनताका अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार छौं । अब हामी देश र जनताको स्वाभीमानका लागि नयाँ बाटो खोलेरै छाड्छौं ।” उनले माओले भनेको कुरा स्मरण गराउँदै भने, “सानो फिलिङ्गो ठीक ठाउँमा प¥यो भने विशाल ज्वाला बन्छ ।” उनले जनसभामा देशभरिबाट आएका कार्यकर्तालाई कमिलाको ताँतीको अगाडि अगाडि जाने एन्टेना बोकेका अगुवाका रुपमा विश्लेषण गरे । उनले भने, देशैभरिबाट एन्टेना बोकेका मान्छेहरु यहाँ आइपुगेका छन् । यी एन्टेना गाउँ गाउँमा पुगेपछि विशाल ज्वाला देशभरि बन्नेछ । उनले युद्ध कसैको पनि रहर नहुने भन्दै बाध्य बनाइएपछि त्यो रोज्नु अनिवार्य हुने बताए ।
सो सभालाई सम्बोधन गर्दै माओवादीका नेता धर्मेन्द्र बास्तोलाले राजा ज्ञानेन्द्रले जेलमा हाल्न थालेका बेला लुकेर रोल्पा आइ सहयोग माग्ने कांग्रेस एमालेले शान्तिप्रक्रियालाई एकलौटी रुपमा उल्लंघन गरेको बताएका छन् । बास्तोलाले कांग्रेस एमालेले एकतर्फी रुपमा शान्ति सम्झौता र १२ बुँदे समझदारीलाई तोडेका कारण अब आफूहरुले पनि सहमति उल्लंघन गर्नुपर्ने बाध्यता आएको बताए । बास्तोलाले भने, “यदि संसदवादीहरु सहमतिबाट पछि हट्छन् भने हामीले त्यही सहमतिमा बसिराख्नुपर्ने जरुरी छैन । संसदवादीले धोका दिन्छन् भने जनतासँग फेरि बन्दुक उठाउने अधिकार सुरक्षित छ ।” अहिले संसदवादी शक्तिहरुले फेरि नेपाली जनताका परिवर्तनका आकांक्षा र चाहनामाथि कुठाराघात गर्दै र जनताको आन्दोलनका उपलब्धीहरुलाई हत्या गर्दै पुरानै संसदीय व्यवस्था थोपर्ने प्रयत्न गरिरहेकोले त्यसलाई आफूहरुले कुनै हालतमा स्वीकार नगर्ने बास्तोलाले बताए । उनले अब माओवादी आन्दोलन एकतावद्ध भएर अगाडि बढ्ने उद्घोष पनि बास्तोलाले गरे । उनले पार्टी फुटेर आन्दोलन कदापी कमजोर नहुने तर्क पेश गर्दै बरु आन्दोलन भएन भने पार्टी कमजोर हुने बताए । उनले भने, “संसारभर जुन जुन ठाउँमा क्रान्ति भएका छन्, त्यहाँका कम्युनिस्ट पार्टी एक भएका छन् र जनताले साथ दिएका छन् । आन्दोलनबाट पार्टी विचलित भयो भने टुक्रा टुक्रा हुँदै कमजोर बन्छ । अब नेपालमा माओवादी आन्दोलन देशभक्त, जनवादी र माओवादी सबैलाई समेट्दै अगाडि बढ्नेछ ।” नेता बास्तोलाले प्रचण्ड बाबुरामले जनयुद्धका उपलब्धीलाई भुलेर नवसंसधोनवादमा पतन भएका कारण पार्टी अलग गर्नुपरेको र त्यसपछि नेतृत्व गरेका मोहन बैद्यले पनि आन्दोलनको उठान गर्न नसकेका कारण नयाँ माओवादी पार्टी बनाएर अगाडि बढ्नुपरेको बताए । माओवादीका प्रबक्त्ता खड्गबाहदुर विश्वकर्मा प्रकाण्डले संचालन गरेको उक्त जनसभामा नेताहरु तिलक परियार, एकराज भण्डारी, पदम राई, उमा भुजेल, शरद रसाइली, धनबहादुर महर्जन, योगेन्द्र कुमाल लगायतले सम्वोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]