कालोबजारी नियन्त्रण नगरे माओवादी अगाडी बढ्ने

काठमाडौँ, १५ माघ। नेकपा माओवादीले खाना पकाउँने ग्याँस, पेट्रोलियम पदार्थको सहज आपूर्ति, कालोबजारी रोक्न, अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलिय पदार्थको मूल्य निर्धारणको माग गर्दै नेपाल आयन निगम घेराउ गरेको छ । काठमाडौँको सुन्धाराबाट नारा जुलुससहित माओवादी नेताहरु बबरमहलस्थित आयल निगम पुगेको थिए ।माओवादीले नेवा: राज्य समिति इन्चार्ज इश्वरी दाहाल नेतृत्वको टोलीले आयल निगम घेराउसँगै निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा कालोबजारी तथा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने काम भएको भन्दै तत्काल कालोबजारी बन्द र कृत्रिम अभाव अन्त्य गरी उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन माग गरिएको छ ।
पेट्रोलियम पदार्थको विश्व बजारमा कायम रहेको मूल्यको आधारमा नेपालमा पनि स्वचालित मूल्य निर्धारण गर्ने भनिए पनि सर्वसाधरणलाई मार गर्ने गरि पेट्रोलियम पदार्थको बेचविखन भइरहेको भन्दै ज्ञापनपत्रमा सरकारको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमा तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाइए र सर्वसुलभ तथा सुपथ मूल्यमा खाना पकाउने एलपी ग्यास उपलब्ध नगराइए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
ज्ञापनपत्रसँगै उपभोक्तालाई सम्बोधन गरिएको अपिल वितरण गरिएको थियो । कालोबजारी नियन्त्रण, भ्रष्टाचार मिसावट र चुवावटको कारण आयल निगम घाटामा गएको बताइएको छ । अन्तर्राष्ट्रिय रुपमा मूल्य बृद्धि हुने तर घट्दा नघटाएर सर्वसाधारण मारमा पारिरहेको बताइएको छ ।
अन्तर्राट्रिय बजार मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु. ४८ रुपैंया कायम हुनपर्ने माग गरिएको छ । यो मूल्यमा पेट्रोल वितरण गर्दापनि निगमलाई घाटा नहुने दाबी गरिएको छ ।
विश्व बजारमा अहिले ९० अमेरिकी डलर प्रति ब्यारेल घटेको र सोहि अनुपातमा नेपालमा १४४ प्रतिशत मुल्य घट्नु पर्ने तर नेपाल आयल निगमले पेट्रोलमा केवल १७.४ डिजेल र मट्टितेलमा १९.२६ प्रतिशत मात्रै घटाएको उपभोक्ताको नाममा जारी अपिलमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले केही दिनभित्रै खाना पकाउने एलपी ग्याँस सहज हुने बताए । उनले भण्डारमा समस्या भएकाले ग्याँसको समस्या हुने गरेको बताए ।
आयन निगममा पुगेका माओवादी नेताहरुले बजारमा भइरहेको बालोबजारी, कृतिम अभाव रोकी सर्वसाधारणलाई सहज आपूर्ति नगरे आफै अगाडी बढ्ने बताएका थिए ।