प्रचण्डको साथ खोज्दै वैद्य माओवादी

काठमाडौं । वैद्य नेतृत्वको नेकपा-माओवादीले पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीसँग एकता गर्ने निर्णय गरेको छ । उसले एकताको प्रमुख शर्तका रुपमा प्रचण्ड नेतृत्वको एमाओवादीले ‘संविधानसभा त्याग्नुपर्ने’ शर्त अगाडि सारेको छ । वैद्य माओवादीको केन्द्रीय समितिको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तीमा संसदवाद विरोधजस्ता मान्यताका आधारमा एकता गर्ने जनाउँदैं एकीकृत माओवादीसँगको एकता गर्ने संकेत गरेको छ । यसअघि पार्टी एकताका लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेपछि वैद्य नेतृत्वको माओवादीले एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेको थियो । जसमध्येका ५ बुँदामा प्रचण्ड त्यतिबेलै सकारात्मक देखिएका थिए । दुवै माओवादीबीच संविधानसभा छाडेर आन्दोलन जाने कि, संविधानसभाबाटैं सहमतिका आधारमा संविधान बनाउन पहल गर्ने भन्ने विषयमा विवाद थियो ।
एकीकृत माओवादीले सहमतीबाटै संविधान बनाउनुपर्ने अडान राखेको थियो भने वैद्य माओवादीले संविधानसभा विघटनको पक्षमा उभिएको थियो । यसले त्यतिबेला एकीकृत माओवादी र नेकपा-माओवादीबीच एकताबारेको छलफलमा ‘ब्रेक’ लाग्यो । तर, संविधानसभामा बहुमतीय प्रक्रिया सुरु भएसँगै एकीकृत माओवादी सडकमा उत्रिने तयारी गरेपछि वैद्य नेतृत्वको नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकले एकताका लागि पहल गर्ने निर्णय गरेको हो । उसले सहकार्य र एकताका लागि पार्टी स्थायी कमिटीलाई पहलकदमी लिने अख्तियारी दिएको छ ।
वैद्य माओवादीले एकताका लागि पहल गर्ने निर्णय लिनुमा उसले पछिल्लो समयमा स्वतन्त्र अस्तित्वलाई बलियो बनाउन नसक्नु कारक मानिएको छ । ‘वैद्य माओवादीले विभाजनपछि आफ्नो औचित्य पुष्टि गर्न सकिरहेको थिएन,’ विप्लव माओवादीका नेता भन्छन्, ‘उनीहरुले क्रान्तिको झण्डा उचाल्न सकेन । हामीले त उनीहरु एकदिन प्रचण्डसँग मिल्छन भनेकै थियौं । यो निर्णयले पनि त्यसैलाई पुष्टि गर्दैछ ।’