अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस भव्यताका साथ मनाइने

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले १०५अाैं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस भव्यताका साथ मनाउने भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले यस वर्ष “राष्ट्रघात, दलालीकरण र महिला उत्पीडन विरुद्ध सशक्त संघर्ष गरौं ! १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपमा मनाऔं !! भन्ने नाराका साथ अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस मनाउने भएको छ ।अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसका अबसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय संगठन समितिको संयोजक बन्धु चन्दले जारी गरेको प्रेस बक्तब्य को पूर्ण बिबरण यस प्रकार रहेको छ – “प्रत्येक वर्ष संसारभरका महिलाहरुले न्याय, स्वतन्त्रता, समानता, परिवर्तन र मुक्तिको अभियानसंग जोड्दै आफ्नो अधिकारको लागि पहिलोपटक संगठित विद्रोह (आम हड्ताल) गरेको दिन लाई स्मरण गर्दै मनाउने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश (८ मार्र्च) सम्पूर्ण मुक्तिकामी महिलाहरुको लागि ऐतिहासिक र गौरवपूर्ण दिन हो । अमेरीकाको न्यूयोर्क शहरको सुतीकपडा कारखानामा काम गर्ने महिला मजदुरहरुले दैनिक १५÷१६ घण्टा श्रमको समय घटाउनु पर्ने तथा समान कामको समान ज्याला पाउनुपर्ने माग राखी गरेको आमहड्ताल (सन् १८५६ मार्च ८) र त्यसपछिका दिनहरुमा विभिन्न ठाउँहरुमा महिलाहरुले ८ मार्चकै दिनमा आफ्ना अधिकारका लागि गरेका सघर्षहरुको संश्लेषणको रुपमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी महिलाहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवादी महिला नेतृ क्लाराजेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको रुपमा मनाउन राखेको प्रस्ताव स्वीकृत र पारित गरिएको थियो । त्यतिवेला देखि नै प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवशको रुपमा संसारभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईन्छ ।
नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश वि.सं. २०१६ देखि मनाउन शुरु गरिएको हो । कुनै कुनै महिला संघ संस्थाहरुले यसलाई परम्परा धान्ने गरी औपचारिकतामा मनाउने गर्छन् भने श्रमजिवी तथा उत्पीडित महिलाहरुको प्रतिनिधित्व गर्ने संघ संगठनहरुले यसलाई तत्कालिन विषयवस्तुलाई केन्द्रमा राखेर संघर्षकै रुपमा मनाउने गर्दै आएका छन् ।
हाम्रो संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले यस वर्षको ८ मार्चलाई राष्ट्रियता, जनतन्त्र ,जनजिविका र महिला अधिकारका सवालहरुलाई केन्द्रमा राख्दै संघर्षकै रुपमा मनाउन गएका छौं । विगतका समाज परिवर्तको लागि भएका विभिन्न आन्दोलनहरुले प्राप्त गरेका उपलव्धीहरुलाई राज्यसत्ताले सम्वोधन गर्न नसक्दा महिलाका अधिकार मात्र होइन समग्र उत्पीडित वर्गका अधिकार समेत धरापमा पर्दैछन् । राजनैतिक दलहरुको राजनैतिक दलालीकरण, वैदेशिक शक्ति केन्द्रको बढ्दो हस्तक्षेप, राज्यका अंगहरुको भ्रष्टीकरण, खुल्ला कमिसनतन्त्र, प्राकृतिक साधन स्रोतमाथि दलालहरुको हालिमुहाली, भ्रष्टाचार, कालोबजारी, आकाशिंदो महंगी, दैनिक उपभोग्य समानहरुको कृतिम अभाव, महिलामाथि दिनदिनै घट्ने महिला हिंसाका घटना, यूवाहरुको बढ्दो विदेश पलायन, बेरोजगारी आदि जस्ता समस्याले देश संकटको भूमरीमा फस्दै गएको छ भने जनता आफ्ना कुरा कतै सुनुवाई नहुने जस्तोसुकै अन्याय पनि चुपचाप सहेर बस्नु पर्ने अवस्थामा छन् । न्याय दिने आवाज सुनिदिने र जवाफदेही कुनै निकाय नभएको राज्यविहिन अवस्था जस्तो स्थितिमा छ आज नेपाल ।
आदरणीय महिला दिदीवहिनीहरु ,
नेपालमा हामीले यसवर्षको ८ मार्चलाई नेपालका यी यावत समस्यासंग जोडेर हाम्रा आवाजहरु बुलन्द गर्दै संघर्षको रुपमा मनाउन गईरहेका र्छौ । यस अवस्थामा हामीले के कुरा भुल्नु हुँदैन भने हामी महिला मात्र होइनौं, हाम्रो उत्पीडन लैङ्गिक मात्र होइन हामी यो देशका नागरिक पनि हौं र हामीमाथि वर्गीय उत्पीडन पनि थोपारीएको छ । जसका कारण गाँस, बास, कपास ,शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षा समेत हाम्रा अधिकारका अभिन्न अंग बन्न पुगेका छन् । त्यसैले यस बर्षको ८ मार्चलाई हामीले सम्पूर्ण उत्पीडित महिलाहरुको आवाज, संपूर्ण श्रमजिवी वर्गको अधिकारको आवाज, देशभक्त प्रगतिशिल तथा जनवादी शक्तिहरुको स्वाधीनता र स्वाभिमानको आवाजलाई समेत उठाउँदै सडक संघर्षकै रुपमा मनाउन गइरहेका छौं । त्यसैले हाम्रो यो अभियान तथा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च, २४ फागुन २०७१) भव्यताका साथ सफल पार्नको लागि सम्पूर्ण महिला दिदीवहिनीहरु, समाजका सम्पूर्ण प्रबुद्ध व्यक्तित्वहरु, उद्यमी, व्यवसायी, मजदुर, किसान विभिन्न निकाय एवं पेशामा संलग्न बुद्धिजीवीहरु, विभिन्न संघ–संस्था, प्रगतिशिल देशभक्त, जनवादी शक्तिहरुलाई सहयोगको लागि हार्दिक अपिल गर्दछौं । ”