बैद्य माओवादीद्वारा ‘क्रान्तिकारी युवा लिग’ गठन

काठमाडौ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले युवा दस्ता ‘क्रान्तिकारी युवा लिग’ गठन गरेको छ । पार्टी विभाजनसँगै जनस्वयंम सेवकका अध्यक्ष दीपक चलाउने नेकपा माओवादीतिर लागेपछि बैद्य माओवादीले नयाँ युवा दस्ता बनाएको हो ।बैद्य माओवादीको मंगलबार र बुधबार भएको भेलाले पूर्व लडाकू नेपबहादुर कुँवर ‘विवेक’को नेतृत्वमा क्रान्तिकारी युवा लिग गठनको निर्णय गरेको हो ।
विवेक नामले चिनिने सल्यानको लेखपोखरा गाविस घर भएका कुवँर माओवादीको पूर्व छैठौं डिभिजनका भाइस कमाण्डर थिए । भेलामा देशभरबाट झण्डै तीन सय प्रतिनिधि उपस्थित थिए । भेलाले ५ सदस्य पछि थप गर्ने गरी ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
लिगको केन्द्रीय समिति उपाध्यक्षमा पूर्व लडाकू नै रहेका नेपबहादुर थारु ‘सिंहराज’ र विजय साङ्पाङ, महासचिव दीपक देवकोटा, सचिव खड्गराज सेजुवाल र कोषाध्यक्षमा गंगा कार्की ‘पूजा’ रहेका छन् ।
क्रान्तिकारी युवा लिगले राष्ट्रघाती, दलाल नोकरशाही, भ्रष्टाचारी, कालाबजारी र राजनीतिक तथा समाजिक अपराधीलाई निसाना बनाउँदै सम्झौताहिन संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष कुँवरले बताए ।
यस्तै, नवगठित लिगले भारतसँगको सीमावर्ती भन्सार नाकाहरुमा नेपाली हाटबजारमा जाने नेपालीलाई दुःख दिने भारतीय एसएसबी फोर्सको रवैयाविरुद्ध अभियान चलाउने निर्णय गरेको पनि बिहीबार वैठकको निर्णय सार्वजनिक गर्दै कुवँरले बताए ।
बाढीपीडितका नाममा संकलित रकम वास्तविक सुकुम्बासीसमक्ष नपुगी प्रधानमन्त्री राहत कोषका नाममा ब्यापार भइरहेको लिगले आरोप लगाएको छ । सिन्धुपाल्चोकको जुरे, सुर्खेत र बर्दियाका जनताको नाममा संकलित रकममा भएको दुरुपयोगको वास्तविकता सार्वजनिक गर्न लिगले योजना बनाउने महासचिव दीपक देवकोटाले बताए ।
जनसुरक्षाको लागि भन्दै गठन गरिएको लिगले राष्ट्रियताको मुद्दा उठाउँदै राष्ट्रिय हित विपरितका निर्णयहरुको विरुद्ध संघर्ष गर्ने बताएको छ ।
यसैगरी बैद्य माओवादीले आगामी चैत्र २४ गतेको जनआन्दोलनका लागि भन्दै ब्यापक रुपमा चन्दा उठाउने पनि निर्णय गरेको छ । चैत्र २४ गतेको जनआन्दोलनबाट क्रियात्मक आन्दोलन सुरुवात गर्न भन्दै वृहत्त आन्दोलन कोष बनाउने र सोही कोषमार्फत आर्थिक संकलन गर्ने निर्णय पनि भेलाले गरेको छ ।