लगानी बोर्डको हाकिमको घरमा कालो झण्डा

काठमाडौं । नेकपा माओवादीले लगानी बोर्डका प्रमुख राधेश पन्तको बाँसबारीस्थित घरमा कालो झण्डा गाडेको छ । स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाका अनुसार प्रहरीले पोलिटब्युरो सदस्य इश्वरी दाहाल (असारे काका) सहित ३० जना कार्यकर्तालाई धरपकड गरेको छ । स्थायी समिति सदस्य वास्तोलाको नेतृत्वमा कालो झण्डा गाड्न दुई सयको संख्यामा कार्यकर्ताहरु बाँसबारी पुगेका थिए । ‘हामी राष्ट्रघाति सम्झौता गर्ने लगानी बोर्डका प्रमुखको घरमा झण्डा गाड्न गएका थियौं ।’ वास्तोलाले भने ‘प्रहरीले हाम्रा साथीहरुलाई धरपकड गरेका छन् ।’
बोर्डका कार्यकारी अधिकृत पन्तले विभिन्न राष्ट्रघाति सम्झौता गरेको तथा स्वयंम भ्रष्टाचारमा परेको माओवादीको आरोप छ । ‘अपर कर्णाली लगायत अन्य राष्ट्रघाति संझौता नगरियोस् ।’ वास्तोलाले भने ‘जलमाफीयाको विरोधमा हामीले कालोझण्डा गाढेका हौं ।’
यसैबीच नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द विप्लबले प्रहरीद्वारा गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ससम्मान रिहा गर्न जोडदार माग गरॆका छन् । महासचिब विप्लबले आज एक प्रेस विज्ञाप्ति जारी गर्दै सो माग गरेका हुन् । महासचिब विप्लबले जारे गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाल सरकारले भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली विद्युत परियोजना राष्ट्रघाती हुँदाहुँदै पनि निर्माण गर्न दिएको बारे हाम्रो पार्टी लगायतका अन्य पार्टी, देशभक्त स्थानीय जनताले विरोध गर्दै आएको सर्वविधितै छ । अपर कर्णाली जहाँ यहि लगानीमा ४१०८ मेघावाट विजुजी निकाल्न सकिन्छ । तर केवल ९०० मेघावाट मात्र निकालिएको छ । त्यहाँबाट उत्पादित विजुली सिधै भारतको बरेली लगिनेछ । र नेपाललाई बेरलीबाट केवल १०८ मेघावाट मात्र विजुली दिने भनिएको छ । साथै जीएमआरुले एडीपीबाट सहयोग र ऋण लिएर उत्पादन गर्ने भनेको छ । त्यही रकम नेपालले एडीपीबाट लिएर उत्पादन गर्न सक्दथ्यो । त्यस्तो राष्ट्रघाती सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्ने लगानी बोर्डका कार्यकारी अधिकृत राजेश पन्तको विरोध गर्ने चेतावनी दिने र सचेत गराउने उद्देश्यले गरिएको कार्यक्रमबाट फर्किने क्रममा असारे काका, पदम राई, गणेश गुडके, साहस भट्ट, ललित बि.क., देव पौडेल, फुर्वा लामा, कृष्ण पुडासैनी, करणसिंह बडाल, विकास रोकाय, कुम्भ बुढा, बालकृष्ण भट्ट, राजु रसाइली, राजन कौशल, प्रेम दर्नाल, विवेक लामा र गणेश बि.क. लगायतका नेता कार्यकर्तालाई यो दलाल सरकारको निर्देशनमा प्रहरीले गिरफ्तार गरेको छ । नेपालको जलश्रोत र प्राकृतिक साधन श्रोतमाथि भारतले लामोसमयदेखि दोहन गर्दै आएको छ । यसैक्रममा पछिल्लोक्रममा अपर कर्णाली, उपल्लो मस्र्याङ्गी, अरुण तेस्रोमा एकै किसिमको राष्ट्रघाती पीडीए र पीटीए गरेको छ । सरकार आफैले राष्ट्रघाती नगर्नु पर्ने, राष्ट्रघात गर्नेलाई कडा कार्वाही गर्नुपर्नेमा राष्ट्रघात गर्नेको विरोध गर्दा उल्टै गिरफ्तार गर्ने काम गरेको छ । सरकारको यो कार्यप्रति हाम्रो पार्टी
घोर विरोध र भत्र्सना गर्दछ । प्रहरीद्वारा गिरफ्तार गरिएका हाम्रा सबै नेता कार्यकर्ताहरुलाई ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा तत्कालै कडा संघर्ष गर्न बाध्य हुनेछौं ।”