‘सूचना साम्राज्य अग्रगमनको चुनौँती’

काठमाडौँ । रेडियो मिर्मिरेको आठौँ वार्षिक उत्सवको अबसरमा शुभकामना आदान प्रदान गर्ने क्रममा बक्ताहरुले अग्रगमनको पहिलो चुनौँती सूचना साम्राज्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।कार्यक्रममा नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य इश्वरी दाहाला ‘असारे काका’ ले संचारमाध्यमहरुले शोषित पीडित जनताको अधिकारका साथै राष्ट्रियताको पक्षमा उभिनु पर्ने बेला आएको बताए । शुभकामना दिदै उनले सञ्चारमाध्यमको पनि वर्गीय पक्षधरता हुने भएकाले रेडियो मिर्मिरे जनताको पक्षमा बोल्नुपर्ने विचार व्यक्त गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले सूचना साम्राज्यवादले अग्रगमनको पक्षमा बोल्ने संचारमाध्यमलाई कमजोर बनाउने प्रयास भएको भन्दै त्यसको विरुद्ध लड्न रेडियो मिर्मिरेले आफूलाई तयार गर्नुपर्ने बताए । ‘आफै जलेरपनि जनतालाई ज्योति दिन सक्ने कि नसक्ने भन्ने चुनौति अग्रगमनको पक्षमा बोल्ने मिडियाको अगाडि आएको छ, त्यसको लागि रेडियो मिर्मिरे तयार हुनेछ भन्ने विश्वास मैले गरेको छु’ वरिष्ठ पत्रकार पीटरले भने ।
शुभकामना कार्यक्रममा बोल्दै मेचिकाली सञ्चार प्रा.लि.का अध्यक्ष धनश्याम श्रेष्ठले रेडियो मिर्मिरे समाजमा पछाडि पारिएका वर्गको पक्षमा बोल्न स्थापना भएको बताए । उनले रेडियो मिर्मिरे जहिले पनि अग्रगमनको पक्षमा उभिँदै आएको भन्दै आगामी दिनमा पनि अग्रगनमकै पक्षमा बोल्ने विचार व्यक्त गरे । अध्यक्ष श्रेष्ठले रेडियो मिर्मिरेमा कोही मालिक र कोही श्रमिक नभएर सबै मालिक र सबै श्रमिक भएको बताए ।
कार्यक्रममा संवाद डवलीका सचिव दिपेन्द्र रावलले वर्ग सङ्घर्षको आवश्यकताले नै सञ्चारको विकास भएकाले सञ्चारमाध्यमले आफ्नो वर्गको पक्षमा बोल्नुपर्ने बताए । उनले पुँजीपतिहरुले जनताको पक्षमा बोल्ने मिडियालाई कमजोर हुँनेगरि व्यवसायीकताको मापदण्ड बनाएको भन्दै जनवादी सञ्चारमाध्यमले उक्त मापदण्ड मान्न आवश्यक नभएको बताए ।
त्यसैगरि राष्ट्रिय कर्मचार महासंघको महासचिव गोपालसिंह धामीले जनताको दुःख सुखका कुरा सूचना रेडियो मिर्मिरेले सम्प्रेण गर्ने गरेको भन्दै जनताको असली मुखपत्र भएको बताए । त्यसैगरि आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौँ शाखाकी अध्यक्ष मिरा अमात्यले सञ्चारमाध्यमले सबै तह र तप्काका जनताका आवाजलाई समेट्नु पर्ने बताइन । शुभकमाना दिँदै उनले सञ्चारमाध्यमलाई समावेशी बनाउँदै श्रमजिवीको पक्षमा बोल्ने पर्ने बताइन ।
कार्यक्रममा नेकपा माओवादी निकट सम्पर्क मञ्चका अध्यक्ष राजु कार्की, क्षेप्यास्त्र साप्ताहिकका सम्पदक राजेन्द्र चिमौरिया, नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव हिम विष्ट लगायतले शुभकामना दिएका थिए ।
मेचीकाली सञ्चार प्रा.लि द्वारा सञ्चालित रेडियो मिर्मिरेको वार्षीक उत्सव काठमाडौँको संवाद डबलीमा भएको थियो ।नयाँ नेपालको लागि नयाँ सञ्चार जनताको लागि रेडियो, आवाजविहिनहरुको आवाज भन्ने नारा बोक्दै २०६३ को चैत्र २४ गते रेडियो मिर्मिरेको स्थापना भएको थियो । काठमाडौँको अनामनगर रहेको रेडियो मिर्मिरे आठ वर्षमा प्रवेश गरेको छ ।
कार्यक्रम रेडियोका प्रवन्धक निर्देशक कृष्णकुमार श्रेष्ठको अध्यक्षतमा र मिक्साङ वाइवाको सञ्चालनमा सम्पन्न भएको थियो ।