दलहरु सरकारको छिनाझपटीमा

काठमाडौं, १६ जेठ । राजनीतिक दलहरु राष्ट्रिय सरकार निर्माणका लागि भन्दै दौडधूपमा लागेका छन् । मुलुक भूकम्पले दिएको पीडामा रहेका बेला राजनीतिक दलहरु भने सरकारको छिनाझपटीमा लागेका छन । यसै सिलसिलामा शुक्रबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भएको छ । बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका साथै भूकम्पबाट सिर्जित महाविपत्तिको व्यवस्थापनका निम्ति राष्ट्रिय सहमतिको सरकार गठनको स्वरुप र कार्यहरुबारे छलफल भएको हो ।
बैठकमा असार मसान्तसम्ममा ‘फास्ट ट्रयाक’बाट संविधान जारी गर्ने र साउन लागेसँगै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्ने र त्यसपछिको सरकारको नेतृत्व भने एमालेका अध्यक्ष केपी ओलीले गर्ने गरी छलफल भएको बताइएको छ । यस प्रस्तावमा प्रधानमन्त्रीसहित सबै दलका नेता सहमति नजिक रहेको स्रोतले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सहभागी थिए ।
त्यसअघि एमाले र एमाओवादीका शीर्ष नेताबीच बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा छलफल भई वर्तमान सरकारको विकल्प खोज्ने विषयमा छलफल भएको थियो । अध्यक्ष ओली, नेता माधवकुमार नेपाल र उपाध्यक्ष विद्या भण्डारी तथा एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराइबीच भेटवार्ता भएको हो ।