मच्छेगाउँ माओवादीमय

काठमाडौं, १८ जेठ । “भूकम्पीय विध्वंसलाई निर्माणमा बदलौँ । विपत्तिलाई समृद्धिको आधार बनाऔँ ।” भन्ने नाराका साथ आज चौथो दिन पनि काठमाडौँ जिल्लाको पश्चिमी भेगमा रहेको चन्द्रागिरि नगरपालिकाअन्तर्गत मच्छेगाउँ क्षेत्रमा वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका विभिन्न चरणमा आएका ठूल–ठूला पराकम्पनबाट क्षतिग्रस्त भएको भौतिक संरचनाको व्यवस्थापन, पुनर्निर्माण, नवनिर्माणलगायतका काममा नेकपा माओवादी र त्यसका जवस-मोर्चाहरू सक्रिय रहेका छन् । पुरातात्विक, सांस्कृतिक तथा आदिवासीहरूको प्राचीन नगरी यो क्षेत्रमा भूकम्पले पु¥याएको क्षति कुनै शब्दमा व्यक्त गर्न सकिँदैन । भूकमपबाट प्रभावित १७ वटै जिल्लामा नेकपा माओवादी टिमबद्ध भएर जनताको सेवा गरिरहेको छ । यसै सन्दर्भमा यो अभियान टोली पनि यो क्षेत्रमा सक्रिय रहेको हो । स्थानीय युवा समाजसेवीहरूसमेत सहभागी रहेको करिब ८० जनाको एकीकृत र केन्द्रीकृत यो अभियानको पहिलो दिन नेकपा माओवादीका स्थायी समिति सदस्य कमरेड धमेन्द्र बास्तोला पनि दिनभर अभियानमा सक्रिय रहे । माओवादीको जनताको सेवा गर्ने यस किसिमको तरिकालाई स्थानीय वासिन्दाले निकै सराहना गरेको पाइएको छ । माओवादीको यो कामबाट जनता खुसी छन्, टिममा सहभागी सदस्यहरू उत्साहका साथ श्रमकार्यमा लागिरहेका छन् । क्षतिग्रस्त कैयौँ घरहरूबाट सामान सुरक्षित तवरबाट निकालेर उचित व्यवस्थापन गरिएको छ भने करिब ३० वटा जटिल प्रकृतिका क्षतिग्रस्त घरलाई भत्काएर त्यसको सामानको उचित व्यवस्थापन गरिएको छ । राष्ट्रिय युवा जनस्वयम्सेवकको नेतृत्वमा यहाँ २१० वटा त्रिपाल पनि वितरण गरिएको छ । यो अभियान टोलीको काम र जनशैलीबाट स्थानीय जनता निकै प्रभावित भएका छन् । यो टोलीको कामबाट प्रभावित भएर अन्य क्षेत्रका भूकम्पबाट पीडित जनताले आफ्नो ठाउँमा पनि आइदिन गरिएका अनुरोध तीब्र हुँदै गएको छ । यो टोलीमा नेकपा माओवादी, जिल्ला सङ्गठन समिति काठमाडौँ, राष्ट्रिय युवा जनस्वयम्सेवक, अखिल (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, राष्ट्रिय उद्योग व्यापार महासङ्घ र स्थानीय युवा समाजसेवीहरू सहभागी छन् ।