कसले रोक्ला, एन्ट्यागको भ्रष्टाचार

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (NTAG) कार्यक्रम निर्देशक दीपक थापाको भ्रष्ट कार्यशैलीका कारण एन्ट्याग भ्रष्टाचारको दलदलमा फसेको सम्बद्ध व्यक्तिहरुले बताएका छन् । कार्यक्रम निर्देशक दीपक थापाले एन्ट्यागमा चरम् आर्थिक अनियमितता गरेका विषयमा यसअघि विभिन्न पत्रपत्रिका र अनलाइनमा व्यापकरुपमा समाचारहरु सार्वजनिक भइसकेका छन् । निर्देशक थापाले एन्ट्यागमा व्यापक आर्थिक हिनामिना गरी संस्था डुबाउन लागेको भन्दै मिति २०७२।४।६ को द. नं. २९८ मार्फत् एन्ट्यागलाई बचाउन र निर्देशक थापालगायत भ्रष्टाचारमा संलग्न पदाधिकारीलाई कारवाही गरी बिगोसहित असुलउपर गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता भइसकेको छ । यस सम्बन्धमा एन्ट्यागका पदाधिकारी भन्छन्, ‘हामीलाई खास र ठोसरुपमा कुनै जिम्मेवारी दिइएको छैन । निर्देशक थापाले जहाँजहाँ भन्छन्, त्यहीँत्यहीँ औँठाछाप लगाउनुपर्ने स्थिति छ । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभिन्न सम्बद्ध संस्थामा उजुरीहरु दर्ता भइसकेका छन् । यसमा यथाशक्य छिटो र सत्य छानबिन हुन जरुरी छ । एन्ट्यागका निर्देशक थापाको कार्यशैलीले गर्दा आपूmजस्तो निर्दोष पदाधिकारी कारवाहीमा पर्न सक्ने भन्दै उनले तत्काल यस विषयमा अख्तियारलगायतका सम्बद्ध निकायले छानबिन थाली कारवाही अगाडि बढाउनुपर्ने अन्यथा ‘धान खाने मुसा चोट पाउने भ्यागुता’ भन्ने स्थिति आउने भन्दै उनी चिन्ता जाहेर गर्छन् ।
यसै विषयलाई जोड्दै अर्का पदाधिकारी भन्छन्, हामीले काम गरेको पारिश्रमिक मात्र खाएका छौँ । एन्ट्यागमा ब्रहम्लुट छ भन्दै विभिन्न पत्रपत्रिका र अनलाइनमा समाचार आउँछन्, हेर्दा हामी पनि दोषीजस्तो देखिन्छौँ । तर, वास्तविकता अर्कै छ । हामी स्वयम् एन्ट्यागभित्रका पीडित पदाधिकारी हौँ । हो, समाचारमा आएका कुराहरु सत्य छन् । जस्तो एन्ट्यागभित्र भएका सवारी साधन, ल्यापटप, इन्धन, मसलन्द, दैनिक भ्रमणभत्ता र प्रचारप्रसार कार्यलगायतमा व्यापक दुरुपयोग भएको छ । यी र यस्तै अनियमितता भएका विषयमा हामीले निर्देशक थापासँग यथार्थ विवरण माग्न खोज्दा संस्था चलाउन गाह्रो छ, सबैको हिसाब–किताब खोज्ने काम नगर्नुस्, यदि चित्त बुझ्दैन भने आफ्नो हिसाब–किताब लिएर जानुस् भनी धम्काउँछन् । यदि उनले सही पारदर्शी काम गरेको भए न हामीले पीडा भोग्नुपथ्र्यो न संस्थाले बालबालिकाको नाममा ल्याएको अनुदानको दुरुपयोग भयो भनेर समाचार बन्नुपथ्र्यो ? यो सबै हुनुमा निर्देशक थापा नै प्रमुख दोषी भएको ती पदाधिकारीको ठहर छ । यसै सन्दर्भमा उनी अगाडि भन्छन्, निर्देशक थापाको छोरा अमेरिका बस्छन्, थापाले छोरालाई अमेरिकामा नै पढाइरहेका छन्, अब आपूm पनि कुनै दिन फुत्त अमेरिका पुग्न सक्छन् भन्दै निर्देशक थापाले एन्ट्यागमा गरेको अनियमितताबाट नै उनले छोरालाई अमेरिका पढाउने खर्चको जोहो गर्ने गरेका ती पदाधिकारीको ठोकुवा छ ।
यस सन्दर्भमा एन्ट्यागका एक कर्मचारी भन्छन्, एन्ट्यागमा भ्रष्टाचार भयो भनेर विभिन्न सञ्चार माध्यममा समाचार आउँदा र सम्बन्धित निकायलाई छानबिन गरी दोषीमाथि कारवाही गरिपाउँ भनी गुहार्दा पनि हालसम्म कुनै सुनुवाई नभएको दुःखेसो व्यक्त गर्छन् र अगाडि भन्छन्, यहाँ कार्यालय समयपछि र विदाको दिनमा समेत बसेर भ्रष्टाचार भएका कागजातहरु गायब पार्ने, मिलाउने काम भइरहेको छ । खै, कुनै निकायको अहिलेसम्म आँखा पुगेको होइन ?