बन्दलाई सफल पार्न सहयोग गर्नेलाई धन्यवाद : प्रकाण्ड

काठमाडौँ, ३ असोज । नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्द साँझ ६ बजे सकिएको छ । उसले संविधानसभाबाट जनविरोधी संविधान जारी गर्न लागेको भन्दै त्यसको विरोधस्वरुप नेपाल बन्दको आयोजना गरेको थियो । जारी हुन लागेको संविधानले जनताले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गरेको
अधिकार खोसेकाले बन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “नेपाली जनयुद्ध र जनआन्दोलनका राजनैतिक एजेण्डा, नेपाली जनताको बलिदान,
शान्तिप्रक्रिया र त्यसक्रममा माओवादी र संसदवादी शक्तिबीच भएका सहमति र सम्झौताहरुका खिलापमा, जनताको अधिकारहरुलाई कटौंती गरी आज जारी गरिएको जनविरोधी संविधानका विरुद्ध हाम्रो पार्टीले नेपाल बन्दको आयोजना गरेको थियो” विज्ञप्तिमा भनिएको छ । बन्दलाई सफल पार्न सहयोग गर्ने सबैलाई माओवादीले विज्ञप्तिमा मार्फत धन्यवाद दिएको छ ।
प्रबक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण बन्दको क्रममा कपिलवस्तु ४ स्थित जीतपुर चोकमा आफ्नो पार्टीका नेता कार्यकर्तामाथि काँग्रेस, एमाले र एमाओवादीका कार्यकर्ताले आक्रमण गरेको भन्दै घोर भत्सर्ना गरेको छ । घाइते नेता कार्यकर्ताको शिघ्र स्वास्थ्यलाभका कामनासहित उपचारको माग गरेको छ । बन्दको क्रममा पोखरा, बाग्लुङ, लम्जुङ्ग लगायत देशभरबाट गिरफ्ता नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न आग्रह समेत माओवादीले विज्ञप्तिमार्फत गरेको छ ।