काँग्रेसको कन्तबिजोग

काठमाडौँ । आफ्नै नेतृत्वमा संविधान जारी गर्न सफल भएको नेपाली काँग्रेसको संविधान जारीसँगै कन्तबिजोग भएको छ । देशमा नयाँ संविधान लागू भएपछि काँग्रेस सत्ता र सरकारबाट बाहिरिन पुगेको छ । सत्ता र सरकार वामपन्थीको कब्जामा पुगेको छ । नयाँ संविधान जारी भएपछि बनेको सरकारका कुनै निकायमा काँग्रेसको उपस्थिति हुन सकेको छैन भने काँग्रेससँगै दक्षिणपन्थी दलालहरुसमेत पाखा लाग्न पुगेका छन् । नेपालमा नयाँ संविधान जारी हुन नदिन छिमेकी मित्रराष्ट्र भारतले अनेकौँ हत्कण्डा अपनायो । तर, नेपालका राजनीतिक दल र नेताहरुको सुझबुझले त्यो सफल हुन सकेन । नेपालमा नयाँ संविधान जारीसँगै मौलाएको सहमतिको राजनीतिलाई भने भारतले अन्ततः भत्काएर नै छोड्यो । जसको कारण संविधान जारी गर्न एक ढिक्का भएका एमाओवादी, एमाले र नेपाली काँग्रेसको गठबन्धन भत्कियो । नयाँ संविधानसँगै त्यसलाई सफलरुपले कार्यान्वयन गर्ने जटिल परिस्थितिमा संविधान जारी गर्न एक ढिक्का भएका दलहरु आ–आफ्नो कित्ता समाउन पुगे । यो सबै हुनुमा भारतीय चलखेल नै प्रमुख हो भन्ने आमनेपाली जनता समक्ष जगजाहेर भइसकेको विषय हो । नेपाली काँग्रेस, एमाले र एमाओवादीले एकढिक्का भएर जसरी संविधान जारी गर्ने महत्वपूर्ण कार्य गरेका थिए, त्यसैगरी, सहमतिको राजनीति अगाडि बढाएको भए पक्कै अहिले देशले आन्दोलन र भारतीय नाकाबन्दी व्यहोर्नु पर्दैनथ्यो । नेपाली उखान ‘भाइ फुटे, गँवार लुटे’ भनेझैँ देशका प्रमुख दलहरुबीचको मुटावको कारण अहिले भारतले चलखेल गर्ने अवसर पाएको छ, जसका कारण देश र जनताले यो दुःखकष्ट व्यहोर्नु परिरहेको छ । नेपाली काँग्रेसले दह्रो खुट्टा नटेकेपछि एमाले, एमाओवादीलगायत वामशक्तिहरु एकजुट भएर अघि बढ्नाले अब देश र जनताले राहत महसुस गर्ने वातावरण बनेको छ भने नेपाली काँग्रेस जनतामाझ नाङ्गिन पुगेको छ । भारतको हेपाहा प्रवृत्तिविरुद्ध अहिले सरकारले जुन अडान प्रस्तुत गरेको छ, त्यसमा जनता औधी खुसी छन् र साथ पनि दिइरहेका छन् ।
देशमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्तो गरिमामय पदमा वामपन्थी शक्ति पुगेका छन् । जसले विगतमा देश र जनताको मुहार फेर्न भन्दै अनेकौँ दुःखकष्ट र आन्दोलन व्यहोरेका थिए । अहिले देशको शासन प्रणाली राजनीतिक तवरबाट हेर्ने हो भने वामपन्थीले सत्ता कब्जा गरेका छन् । अहिले दक्षिणपन्थीहरुको बिल्लीबाठ भएको छ । यस्तो अवस्थामा सत्ता र सरकारमा पुगेका नेतृत्वकर्ताहरुले सही र जनपक्षीय कार्य गर्ने हो भने नेपालले अग्रगामी छलाङ मार्ने निश्चित भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।