घुस्याहा रेन्जरले कालोमोसो दलेपछि घुस रकम फिर्ता गरे

काठमाडौ, २० पुस । उपभोक्ताहरुबाट घुस लिएको आरोपमा नेकपा माओवादीले कालोमोसो दलेपछि इलाका वन कार्यालयका रेञ्जरले घुस रकम फिर्ता गरेका छन् । जिल्लाको ढकारी रेञ्ज पोष्टका कार्यरत अब्दुल करिम मियाले जिल्ला वन अधिकृतको रोहबरमा सोमबार सरस्वती सामुदायिक वनका अध्यक्ष दिपेन्द्र परियारबाट लिएको घुसमध्ये २० हजार फिर्ता गरेको जिल्ला वन कार्यालय अछामले जनाएको छ । विभिन्न सामुदायिक वन र उपभोक्ताबाट घुस लिएको गुनासो आएपछि नेकपा माओवादीले आफ्नो पार्टीले चेतावनीस्वरुप कालोमोसो र जुत्ताको माला लगाएको बताएको छ । पार्टीका २ नं. कमाण्ड इन्चार्ज सञ्जयले सोमबार एक विज्ञप्ति जारी गरी आफ्नो पार्टीले कालोमोसो लगाएको बताएका छन् ।
‘इलाका वन कार्यालय ढकारीस्थित रेञ्जपोष्टमा कार्यरत रेञ्जर अब्दुल करि मियाले विभिन्न सामुदायिक वनबाट घुस खाई रातारात सरुवाको चक्करमा रहेकाले छानविन गरी रेञ्जर मियालाई कार्वाही गर्न सम्बन्धित निकायासँग पटक–पटक अनुरोध गर्दा समेत सुनुवाइ नभएपछि हाम्रो पार्टीको युवा दस्ताले कालोमोसो दल्नुकासाथै जुत्ता–चप्पलको माला लगाइ जनकार्वाही गरेको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला वन अधिकृतले घुस रकम फिर्ता गराउँदा माओवादी कार्यकर्तालाई समेत बोलाएको थिए । ठाउँठाउँबाट घुस लिएको विरोध हुन थालेपछि मिया केहि समयदेखि सदरमुकाम मंगलसैनमा बस्दै आएका थिए ।