शैक्षिक क्षेत्रमा भइरहेको अत्याचारविरुद्ध लडिरहने छु : अधिकारी

२०७३ बैशाख २४ गते, शुक्रबार

काठमाडौं, २४ बैशाख । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई जिशिअ शंकरबहादुर गौतमलाई कालो मोसो दलेको आशंकामा स्वयम्भू प्रहरीले गत बैशाख १७ गते गिरफ्तार गरी हिरासतमा राखेको छ । शैक्षिक क्षेत्रमा हुँदै आइरहेको व्यापारीकरण, माफियाकरणका विरोध आन्दोलन गर्दै आइरहेको अखिल क्रान्तिकारी काठमाडौंको संयोजक अधिकारी हिरासतमै शिक्षा क्षेत्रमा भइरहेको विकृति, विसंगति हट्नुपर्ने माग राखेर आठ दिनदेखि आमरण अनसन बसिरहेका छन् । नीजि विद्यालयले मनोमानी ढंगले उठाउँदै आइरहेको शिक्षण शुल्कको अनुगमन गरी वैज्ञानिक बनाउनुपर्ने, सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने तथा विगतमा नीजि शैक्षिक संस्था र विद्यार्थी संगठनबीच भएको सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग राख्दै उनले हिरासतमै आमण अनसुन शुरु गरेका थिए । हाल प्रहरी हिरासतमै आमरण अनसन बसेका अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएको छ । स्वास्थ्य अवस्था निकै कमजोर भएपछि अधिकारीलाई शुक्रबार उपचारका लागि वीर अस्पताल पुर्याइएको छ । वीर अस्पतालमा उपचारत अधिकारीले आफ्नो माग पूरा नभएसम्म आमरण अनसन जारी रहने बताए । ‘म शैक्षिक सुधारको लागि आन्दोलनरत विद्यार्थी हुँ, हिरासत वा खुल्ला जहाँ रहेपनि शैक्षिक क्षेत्रमा भइरहेको अत्याचारविरुद्ध लडिरहनेछु’ अधिकारीले भने ।

प्रतिक्रियाहरु

[anycomment]