जिशिअलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार भएका अधिकारीद्वय रिहा

काठमाडौं, २५ बैशाख । जिशिअ शंकरबहादुर गौतमलाई कालो मोसो दलेको आशंकामा स्वयम्भू प्रहरीले गत बैशाख १७ गते गिरफ्तार गरी हिरासतमा राखेको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकाश अधिकारी रिहा भएका छन । शैक्षिक क्षेत्रमा हुँदै आइरहेको व्यापारीकरण, माफियाकरणका विरोध आन्दोलन गर्दै आइरहेको अखिल क्रान्तिकारी काठमाडौंको संयोजक अधिकारी हिरासतमै शिक्षा क्षेत्रमा भइरहेको विकृति, विसंगति हट्नुपर्ने माग राखेर आठ दिनदेखि प्रहरी हिरासत मै आमरण अनसन बसिरहेका थिए । नीजि विद्यालयले मनोमानी ढंगले उठाउँदै आइरहेको शिक्षण शुल्कको अनुगमन गरी वैज्ञानिक बनाउनुपर्ने, सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने तथा विगतमा नीजि शैक्षिक संस्था र विद्यार्थी संगठनबीच भएको सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग राख्दै उनले हिरासतमै आमण अनसुन शुरु गरेका थिए । आमरण अनसन बसेका अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएपछि उनलाई शुक्रबार उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो ।