बबण्डर मच्याउँदै बादल, फुटको संघारमा वैद्य माओवादी

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अन्ततः फुटको संघारमा पुगेको छ । अध्यक्ष किरण समूहलाई छोडेर महासचिव रामबहादुर थापा बादल समूह बिनासर्त एमाओवादीमा समाहित हुने भएपछि यो स्थिति आएको हो । यसै कार्यको लागि महासचिव बादलले आगामी वैशाख २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । महासचिव बादलले बोलाएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष किरण पार्टी एकताको बाधक भएको ठहर गर्दै किरणलाई कारवाही गरी बिनासर्त एमाओवादीमा विलय हुने निर्णय हुने स्रोतले बताएको छ । यसरी महासचिव बादलले आपूmलाई घात गर्दै पार्टी केन्द्रीय समितिको बैठक बोलएपछि अध्यक्ष किरणले त्यसको प्रतिवाद गरेका छन् । अध्यक्ष किरणले महासचिव बादलले बोलाएको बैठकमा उपस्थिति नहुन सबै केन्द्रीय सदस्यहरुलाई पत्रमार्फत् अनुरोध गरेका छन् । अध्यक्ष किरणले महासचिव रामबहादुर थापा बादलले बोलाएको बैठक पार्टीको नीति र निर्देशनविपरीत भएको उक्त बैठकमा उपस्थिति हुन केन्द्रीय सदस्यहरुलाई गरेको परिपत्रको पूवर्णविवरण यस प्रकार रहेको छ– “प्रिय कमरेड, २०७२ चैतदेखि विभिन्न विवाद तथा बहसका बीच जारी केन्द्रीय समितिको बैठकलाई स्पष्टीकरणका निम्ति दुई दिन स्थगित गरिएकोमा त्यस अवधिमा अध्यक्षद्वारा मस्यौदा गरिएको एकतासम्बन्धी प्रस्तावको अङ्गका रुपमा प्रस्तुत संक्षेपीकृत ११ बुँदे प्रस्तावको विरोधमा क. बादलद्वार १४ बुँदे प्रस्ताव पेस गरिएको र पार्टी एकताको लागि दबाब दिने भनी सीसीएमहरुका बीचमा हस्ताक्षर अभियान चलाएको कुरा स्पष्ट नै छ । यस प्रकारको स्थितिको गम्भीरतालाई महसुस गर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ तुल्याई सिद्धान्तनिष्ठ पार्टी एकताका लागि वार्ताको प्रक्रिया अगाडि बढाउने उद्देश्यमा आधारित रही केन्द्रीय समितिको बैठक एक महिनाका लागि स्थगन गरिएको थियो । तर, यसै अवधिमा आन्तरिक एकतालाई बलियो, तुल्याउनुको सट्टा अध्यक्षलाई थाहै नदिई सीसीएमहरुको भेला बोलाइएको तथा विभिन्न पक्षसित पार्टी एकताका लागि वार्ताको प्रक्रिया अगाडि बढाइएको र एमाओवादीको स्थायी समितिद्वारा क. बादल पक्षसित एकता गर्ने भनी गरिएको निर्णय सार्वजनिक भइसकेको गम्भीर प्रकारको स्थितिमाथि आवश्यक ध्यान दिई अझै पनि आन्तरिक एकता कायमै राख्ने उद्देश्यमा आधारित कहीँ पुनः एक महिनाका लागि बैठक स्थगित गरिएको थियो । प्रस्तुत निर्देशन उल्लंघन गरी कतिपय जिम्मेवार कमरेडद्वारा यही वैशाख २८ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको पाइयो । यसरी बोलाइएको बैठक आधारिक एवं विधिसम्मत होइन । तसर्थ, केन्द्रीय समितिका सदस्य कमरेडहरुसित सो बैठकमा उपस्थित नहुन र आधिकारिक रुपमा पुनः स्थिति गरिएको मितिमै उपस्थिति हुनका लागि अनुरोध गरिएको छ । साथै, सम्बन्धित कमरेडहरुसित अन्तरक्रिया तथा गृहकार्य गरी आन्तरिक एकतालाई सुदृढ बनाउन सकिएको स्थितिमा सो मितिभन्दा पहिले नै केन्द्रीय समितिको बैठक बोलाउन सकिने कुरा पनि जानकारी गराइन्छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]