माओवादीले भोलि बिशाल जनप्रदर्शन गर्ने , आम जनसमुदायलाई सहभागी हुन अनुरोध

काठमाडौ, ६ जेठ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले राष्ट्रियता माथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिशन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योग धन्दा एवं व्यवसायीहरुको टाट पल्टाई र कहाली लाग्दो जनजीविका लगायत यावत समस्याका विरुद्ध पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरुको स्मृति दिन पारेर विशाल विरोध प्रदर्शन र जनसभा आयोजना गरेको र सो कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सम्पूर्ण पार्टी पंक्ति, इमान्दार माओवादीहरु, क्रान्तिकारी कम्युनिष्टहरु, प्रगतिशिल एवं राष्ट्रवादी शक्ति र आम जनसमुदायलाई हार्दिक अनुरोध गरेका छन ।
जनयुद्धका सहिदहरुको स्मृति, बेपता र घाईते योद्धाहरुको सम्मानमा आयोजित सो सभालाई नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द बिप्लब, प्रबक्ता प्रकाण्डलगायतका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ । पछिल्ला एक बर्षयता भुकम्प, नाकाबन्दी, संसदीय पार्टीहरुमा देखिएको भ्रष्ट र दलाली गतिबिधिलगायतका बिषयलाई लिएर गत चैत्रमा सम्पन्न केन्द्रिय समितिको बैठकको मूल मर्मलाई मध्यनजर गर्दै माओवादीले सो जनप्रदर्शन तथा सभा गर्न लागेको बताएको छ ।
माओवादीले दशबर्षे जनयुद्धबाट प्राप्त उपलब्धिलाई संसद्वादी पार्टीको पोल्टामा सुम्पिएर मूल नेतृत्वले गद्दारी गरेको, माओवादी क्रान्तिकारी आन्दोलन बीचमै तुहाएको, नेतृत्बवर्ग सहिद, बेपत्ता र घाइतेका सपनालाई लत्याएर पद, प्रतिष्ठा र पैसाका पछाडि लागेको साथै माओवादी आन्दोलनलाई धराशयी गराएको आरोपसहित प्रचण्ड माओवादीबाट फुटेर बैद्य माओवादी हुँदै बैद्यभित्र पनि क्रान्तिकारी गतिशीलता नदेखाएको भन्दै नेकपा माओवादी गठन गरी जनयुद्धकालका गतिबिधिसहितका संघर्षका कार्यक्रमसमेत गर्दै आएको छ । माओवादीले बिगत एक बर्षयता दलाल तथा भ्रष्टको घरजग्गा कब्जा, कतिपय प्राकृतिक स्रोत र साधनको दोहन गरी राज्यलाई कर नतिर्ने दलाल ठेकेदारका सम्पत्तिमाथि भौतिक हमला, भ्रष्टचारी कर्मचारीमाथि कालोमोसोदेखि माथिल्लोस्तरको कालोबजारी र दलाली माथि भौतिक हस्तक्षेपसम्मको कारबाही गर्दै आएको छ । प्रचण्ड माओवादीमा पद, प्रतिष्ठा र पैसाको मोह हाबी हुँदै जानु, बैद्य माओवादीमा निराशा, कुण्ठा र पलायनता बढ्दै जानुले अबको एक मात्र क्रान्तिकारी माओवादी आन्दोलनको एउटा मुख्य जिम्मेबार क्रान्तिकारी शक्ति ठान्दै जनसरकार निर्माणसहित अगाडि बढेको माओवादीमा पछिल्लो समय देशभर करिब दश हजार पूर्णकालीन कार्यकर्ता रहेको माओवादीको भनाइ छ । माओवादीले जनप्रदर्शन तथा सभामार्फत नेपाली जनतालाई बिद्रोहका लागि तयार रहन अपिल गर्दै देशब्यापी संघर्षका कार्यक्रम अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।