माओवादीद्वारा चुनखानीमा आक्रमण , कार्यालय र डोजर ध्वस्त

२०७३ जेष्ठ १९ गते, बुधबार

काठमाडौ, १९ जेठ । नेकपा माओवादी चितवनले शक्तिखोरमा रहेको कोलार चुनखानीमाथि कारबाही गरेको छ । चुनखानीका कारण पूर्वी चितवनको चेपाङवस्ती नै संकटमा परेको, जनताको स्वास्थ्यमा प्रतिकूल असर परेको र जिल्लाका ३ वटा नगरपालिकाको खेतीयोग्य जमिनमा समेत ह्रास आउँन थालेको भन्दै माओवादीले कारबाही गरेको हो । कार्वाहीबाट चुनखानीको कार्यालय र एक डोजर समेत ध्वस्त भएको बताइएको छ । यसअघि त्यहाँका जनताले पटक पटक चुनखानी बन्द गरिनुपर्ने माग राखेर विरोध गर्दै आएका थिए । स्थानीयको विरोधका बावजुद पनि चुनाखानी संचालन रघुनन्दन मारुले जनताको मागलाई व्यवास्था गर्दै आएपछि उनीहरुले माओवादी पार्टीमा उजुरी दिएका थिए । लाखौ जनताको स्वास्थ्यमा असर पर्ने काम गरेको र उनीहरुको जीवन धरापमा पार्दै लागेकाले उनीहरुको माग अनुसार नै चुनखानीमाथि आफ्नो पार्टीले कार्वाही गरेको माओवादीले जनाएको छ ।
चुनखानीका कारण पूर्वी चितवनका रत्ननगर नगरपालिका, कालिका नगरपालिका र खैरेनी नगरपालिकाको खेतीयोग्य जमिन जोखिममा परेको छ । उक्त खानीलाई बन्द गर्न माग गर्दै त्यहाँका स्थानीयहरु पटक पटक धर्ना समेत बस्दै आएका थिए । माओवादीले बुधबार चुनखानीमाथि कारवाही गरेपछि आफुहरु हर्षित भएको स्थानीयहरुले बताएका छन् । उनीहरुले पुनः उक्त खानी संचालन हुन् नदिन समेत आग्रह गरेको नेकपा माओवादीले दाबी गरेको छ ।
यसअघि चुनखानी उत्खननले ऐतिहासिक उपरदाङगढी किल्ला र वस्ती जोखिममा पारेको भन्दै नेकपा माओवादीले उत्खनन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो। स्टारलाइन प्रालिले खानी रहेको कोलार पहाडमा किल्लाभन्दा ५ सय मिटरनजिक उत्खनन गरिरहेको छ।
उत्खननस्थलनजिकै विद्यालय र शक्तिखोर, पिठुवा र जुटपानी क्षेत्रको खानेपानी स्रोत कयरखोलाको मुहान पनि छ । संक्रमणकालीन समयमा खानीलगायत प्राकृतिक स्रोत उत्खननको जिम्मा कसैलाई दिन नहुने माओवादीको तर्क छ ।
भूगर्भ विभागबाट दैनिक १ सय ६५ टन चुन ढुंगा निकाल्न पाउने स्वीकृति स्टारलाइनलाई छ। एक टन चुनढुंगाको विभागलाई १२ रुपैयाँ राजस्व र जिविसलाई त्यसको १० प्रतिशत विकास शुल्क तिर्नुपर्छ। प्रालिले गत जेठबाट उत्खनन सुरु गरेको थियो। अहिलेसम्म १५ सय टन हाराहारी चुनढुंगा निकालेको स्थानीयको अनुमान छ।

प्रतिक्रियाहरु

[anycomment]