माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

काठमाडौं, १६ असार । नेकपा माओवादीले महँगी, कालोबजारी, भ्रष्टाचार, तस्करी नियन्त्रणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आज काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको जुलुस माइतीघर मन्डला, बबरमहल, हनुमानस्थान हुँदै सिंहदरबारमा पुगी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । माओवादीको उपत्यका ब्यूरोको आयोजनामा ज्ञापनपत्र बुझाउन गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै माओवादीका पोलिट ब्यूरो सदस्य एवं केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले कालो बजारी, तस्कर र भ्रष्टचारीमाथि सरकारले कारवाही गर्नुको साटो संरक्षण दिएको भन्दै आपत्ति जनाए । एनसेलले राज्यलाई अर्बौं रुपैयाँ कर नतिरेर अपराध गरेको र उसको दलाली प्रवृत्तिलाई सरकारले नै पक्षपोषण गरिरहेको जनपरिषद् प्रमुख बुढाले बताए । विरोध जुसुलको नेतृत्वमा रहेका पोलिटब्यूरो सदस्यद्वय बुढा, असारे काकाको टोलीले देशमा बढिरहेको महंगी, काला बजारी, तस्करी, भ्रष्टाचारीमाथि तत्काल कारवाही गर्न, भूकम्पपीडितलाई तत्काल राहत दिन सरकारसँग माग गर्दै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र दर्ता गराएको हो । ज्ञापनपत्रमा एनसेल घटनासँग जोडिएर गिरफ्तार पार्टीका नेता तथा कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने, त्यसअघि विभिन्न झुठा अभियोगमा थुनिएका झापा जिल्ला सेक्रेटरी बाबुराम राईलगायत सबैलाई निसर्त रिहा गर्न जोडदार माग गरिएको छ । हनुमानथानमा भएको सभालाई सम्बोधन गर्दै प्रमुख बुढाले ‘विस्तारै भ्रष्टचारी, तस्करी, कालाबजारीमाथि माओवादीको नेतृत्वमा गठित जनताको सत्ताले कारवाही गर्दै लैजाने’ बताए । उनले पार्टीका गिरफ्तार नेता कार्यकर्तालाई सरकारले तत्काल बिनासर्त रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी पनि दिए ।