प्रचण्ड प्रधानमन्त्री बन्ने प्रपन्च रच्दै

२०७३ असार १८ गते, शनिबार

काठमाडौं, १८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न कम्मर कसेर लागेका छन् । त्यसैले अचेल प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा राष्ट्रिय सहमतीय सरकारको नारालाई जोड दिने गरेका छन् । काँग्रेस र एमालेले एकअर्काको नेतृत्व स्वीकार नगर्ने भएकाले आफ्नो पोल्टामा सरकारको नेतृत्व आउने प्रचण्डको विश्लेषण छ । बजेट पास भएलगत्तै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु हुने भन्दै नयाँ सरकार गठनबारे काँग्रेस र माओवादी केन्द्रका नेताबीच आपसी सम्वादको थालनी भएको छ । यसघि प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेससँग मिल्नै लागेको माओवादीलाई ९ बुँदे सहमतिमार्फत आपूmतिर फर्काउन र ढल्नै लागेको सरकार जोगाउन सफल भएका थिए । तत्कालको लागि सरकार फेर्ने काँग्रेसको कसरतसँगै सतहमा आएको संकट अल्पकालीनरुपमा टरे पनि त्यसक्रममा माओवादीसँग गरिएको ‘भद्र सहमति’ अब ओली सरकारको लागि काउसो बन्न पुगेको छ । एमाले र माओवादीबीच बजेट पास भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको थियो, जुन माओवादी र एमालेका नेताहरुले अनौपचारिक संवादमा स्वीकार गर्दै आएका छन् । यद्यपि प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चहरुमा भने ‘भद्र सहमति’लाई ठाडै अस्वीकार गर्ने गरेका छन् । तर, बजेट पास भइसकेको अवस्थामा माओवादीले ‘भद्र सहमति’को कुरो उठाउने र सरकारको विकल्प खोज्ने संकेत देखिन थालिसकेको छ । अब २४ गतेभित्रै बजेट पास गर्ने सरकारको तयारी छ । अब बजेट पारित हुने क्रमसँगै एमालेमाथि सत्ता हस्तान्तरणका लागि दबाव बढ्ने संकेत देखिएको छ । एमालेले ‘भद्र सहमति’ तोड्न खोजेको अवस्थामा माओवादीले उसको साथ छोड्यो भने यो सरकारको दिनगन्ती त्यहीँबाट प्रारम्भ हुनेछ ।
पछिल्लो समय सरकार परिवर्तनको खेलमा नेकपा माओवादी केन्द्रका प्रचण्डनै सक्रिय देखिएका छन् । नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढ्ने वा सत्ताको नेतृत्वकर्ता एमालेसँग सहमति गरेर बढ्ने दुई विकल्पमा प्रचण्डले भित्रभित्रै छलफल चलाएका छन् । पार्टीका उच्च नेताहरुबीच सरकार परिवर्तन गर्नेमा एकमत भए पनि काँग्रेस समात्ने या एमालेसँगै मिल्ने अन्योल नै रहेको माओवादी केन्द्रका एक नेताले बताए । माओवादी केन्द्रका नेता बर्षमान पुन, कृष्णबहादुर महरा, गोपाल किराँतीले नयाँ सरकार बनाउने पार्टीको निर्णयअनुसार काँग्रेस र एमालेका केही नेतासँग भित्र भित्रै छलफल चलाएका छन् । असार १५ बाट नै ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको उनीहरुको दाबी छ । बजेट पारित गर्नु अगाडि नै यो सरकार विस्थापित हुने र अर्को सरकार बनाउने नेकपा माओवादी केन्द्रको तयारी रहेको छ । उनीहरुको पहिलो प्रयास प्रचण्डको नेतृत्वमा सरकार बनाउने रहने र त्यो सम्भव नभए केही सर्तसहित काँग्रेसका सभापति शेरबहादुर देउवालाई बनाउने रहेको बुझिएको छ ।
तत्काल भारत पनि प्रचण्डको पक्षमा देखिए पछि माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा सरकार बनाउन सक्रियता बढाएको स्रोतको दाबी छ । भारतले देउवालाई भन्दा प्रचण्डलाई नै अगाडि बढाउने रणनीति बनाएको बुझिएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाको बिगतले गर्दा भारत अझै सशङ्कित भएको स्रोतको दाबी छ । त्यसैगरी प्रचण्डलाई चीनको समेत साथ हुने हुँदा उनी प्रधानमन्त्रीका लागि बलियो उमेदवार हुन् भन्ने चर्चा राजनीतिक बृत्तमा चलेको छ ।

प्रतिक्रियाहरु

[anycomment]