मानव तस्करीमा सभासदहरुको संलग्नता !

काठमाडौं, २२ असार । मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् ।
परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध ब्यक्तिको नाम थपेको विषयमा केन्द्रिय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगडी बढाएको हो ।
सांसद नाम थपिएका सहयोगी
गोमा कुँवर भरत दनुवार
डोरप्रसाद उपाध्याय सहदेव थापा
सिर्जना खत्री अदिना गुरुङ
सन्तकुमार थारू देवेन्द्रप्रसाद साह
रूपा महर्जन श्रेष्ठ लोकमान गुरुङ
राममाया बोगटी तेन्डोमा शेर्पा
दिलमाया धामी पंकज गुरुङ
धना पहरी खड्गबहादुर राई
संसद सचिवालयको अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिषा सिफारिस पत्रको आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो । संसद सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो । तर, स्पेनका लागी भिषा आवेदन गर्दा सबैको पत्रमा ब्यक्तिगत सहयोगीको रुपमा एक-एक जनाको नाम थपिएको थियो ।
कान्तिपुरले प्राप्त गरेको कन्सुलरको पहिलो पत्रमा कुटनीतिक राहदानीको नम्बरसहित स्पेन जाने सभासदको नाम, कार्यक्रम र कार्यक्रमको अवधि उल्लेख छ । दुतावासमा भिषाका लागि पुगेको कन्सुलरको पत्रमा भने सांसदको नाम, कार्यक्रम र कार्यक्रमको अवधिसँगै सांसदसँगै अन्य एक जनाको नाम समेत थपिएको छ ।
सांसद कुँवरको भिषा सिफारिस पत्रमा भरत दनुवारको नाम थपिएको छ । उपाध्यायको पत्रमा सहदेव थापा, खत्रीको पत्रमा अदिना गुरुङ र थारुको नाममा जारी भएको पत्रमा देवेन्द्रप्रसाद साहको नाम थपिएको छ । श्रेष्ठको पत्रमा लोकमान गुरुङ, बोगटीको पत्रमा तेन्डोमा शेर्पा, धामीको पत्रमा पंकज गुरुङ र पहारीको पत्रमा खड्गबहादुर राईको नाम थपिएको छ । पत्रमा थप गरिएको सबैको पद सांसदको नीजि सहयोगी उल्लेख छ ।
स्रोतअनुसार विभिन्न कार्यक्रममा सहभागी हुन सांसदको कुटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भिषा आवेदन भएपछि भारतस्थित स्पेनी दुतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधेको थियो । विभागले भिषा आवेदनमा पेश भएको पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउँदा नाम थपिएको पत्ता लागेको हो । त्यसपछि कीर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको हो ।
सुरुमा यसबारे अपराध अनुसन्धान विभाग (सिआइडी) ले अनुसन्धान थालेको थियो । कन्सुलर शाखा स्रोतका अनुसार केही दिनअघि सिआइडीका एसपी जगतमान श्रेष्ठसहितको प्रहरी टोली त्रिपुरेश्वरस्थित कन्सुलर कार्यालय पुगेर ती सांसदको सिफारिस पत्र लगायत कागजात लिएर गएको थियो ।
प्रारम्भिक अनुसन्धानमा पत्र किर्ते गरी मानवतस्करीमा सांसदको संलग्नता देखिएपछि सिआइडीले सोमबार अनुसन्धानसँग सम्बन्धित सबै कागजात ब्युरोमा पठाएको थियो । ब्युरो स्रोतका अनुसार त्यसपछि टोली गठन गरी अनुसन्धान अगाडि बढाइएको छ ।
कन्सुलर शाखामा गएर पत्र ल्याएकोबारे सोद्धा एसपी श्रेष्ठले भने, ‘यसबारे मलाई जानकारी छैन ।’ यसबारे कन्सुलर गणेश ढकालसँग जिज्ञासा राख्दा उनले पनि ‘जहाँबाट सूचना पाउनुभएको हो उतै सोध्नोस्’ भन्दै फोन काटिदिए ।
सभासदको नाममा जारी भएको संसद सचिवालयको सिफारिस पत्रका हस्ताक्षरकर्ता शाखा अधिकृत गोपाल सिग्देलले ‘विदेशमा हुने कार्यक्रममा सहभागी हुन आएको निम्ता सहित सभासद्बाट निवेदन आएपछि कन्सुलर विभागलाई सिफारिस पत्रका लागि पत्र पठाउने’ गरेको जानकारी दिए । तर त्यसपछिको अवस्थाबारे शाखालाई कुनै जानकारी नहुने उनले जनाए । ‘सांसदले सिफारिस पत्र मागेपछि पत्र लेखिदिन्छौं, पत्रपछि भिषा लाग्यो/लागेन शाखाले फलोअप गर्दैन’ उनले भने, ‘सांसदहरूले जानकारी पनि दिनुहुन्न ।’
सांसदमाथिको छानविनबारे केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले भने, ‘यस विषयमा म बोल्दिनँ ।’ – केपी ढुंगाना, कान्तिपुर दैनिकवाट