पार्टी नीति बिपरित गतिविधि गर्ने पुलामी कारवाहीमा

काठमाडौं, ३१ साउन । नेकपा माओवादीले पार्टी नीति बिपरित गतिविधि गरेको भन्दै सविन पुलामीमगरलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी निकट मजदूर संगठनको भक्तपुर संयोजक युवराज आचार्यमाथि भौतिक आक्रमण गरेको भन्दै पार्टीकै कार्यकर्ता सविन पुलामीमगरलाई कार्वाही गरेको उपत्यका विशेष व्यूरो इन्चार्ज सन्तोष बुढामगर ‘विषम’ ले बताएका छन् ।
साउन २७ गते बेलुकी आचार्यमाथि भएको उक्त घटनाले पार्टीका गम्भीर ध्यानाकर्ष भएको भन्दै अरुको उक्साहटमा पार्टीका जिम्मेवार नेतामाथि भौतिक आक्रमण गरेको भन्दै पार्टीबाट निस्कासन गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । घटनामा संलग्न अजय लामा र एक अपरचित ब्यक्तिलाई खोजेर कार्वाही गर्ने समेत उनले बताएका छन् ।
‘पार्टीले यो गतिबिधिलाई घोर अराजक र अराजनैतिक, गुण्डागर्दी र आपराधिक घटना भएको ठहर गरेको छ । एउटा पार्टी सदस्यले अनुशासन विपरित नेतृत्वमाथि हातपात गर्ने कुरा क्रान्ति विरोधी र प्रतिक्रियावादीहरुको उक्साहटमा क्रान्तिकारीहरुमथि आक्रमण गर्ने सुनियाजित योजनामा भएको ठहर गर्दै निज सविन पुलामी मगरलाई कुनैपनि जिम्मेबारीमा नरहने गरी आजैका मितिदेखि पार्टी सदस्यबाट समेत निस्काशन गरिएको छ’ सन्तोष बुढामगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा उनले पुमाली मगरले आफ्नो पार्टीका महासचिव विप्लवको नाममा नक्कली पत्र बनाइ चन्दा असुली गर्ने गरेकाले लिखित आत्मालोचनासहित रुपान्तरण हुने समय दिएको तर उनले नेतृत्वमाथि भौतिक आक्रमण गरेकाले कार्वाही गरेको बताएका छन् । नक्कली चन्दा असुलीबाट बच्न आधिकारीक ब्यक्तिसँग सम्पर्क गर्न इन्चार्ज विषमले विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेका छन् ।